
अत्तरिया – यही कार्तिक १५ गतेदेखि काठमाडौंको मुलपानी क्रिकेट ग्राउन्डमा सुरु हुन लागेको नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपीएल) क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै‘खप्तड सुदूरपश्चिम थन्डर’ ले सहभागिता जनाउने भएको छ।
देशभरका सातवटै प्रदेशका टोली सहभागी रहने प्रतियोगिता टेनिस बलबाट खेलाइने टि-१० र्फम्याटमा देशमै पहिलोपटक आयोजना हुन लागेको हो।खप्तड सुदूरपश्चिम थन्डरका टिम सञ्चालक अरुण भण्डारीले मंगलबार कैलालीको गोदावरी नगरपालिका-४ स्थित ग्रिन गोदावरी रिसोर्टमा पत्रकार सम्मेलन गर्दै टिमको तयारीबारे जानकारी गराएका हुन्।

उनले भने, “देशभरबाट ७ वटा टिम प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्, जसमा सुदूरपश्चिमबाट खप्तड सुदूरपश्चिम थन्डरले प्रतिनिधित्व गर्दैछ। हामी सबैको साथ र समर्थनको अपेक्षा गरेका छौँ।”प्रतियोगिताका लागि हालै सम्पन्न अक्सनमार्फत खप्तड सुदूरपश्चिम थन्डरले ७ लाख ३५ हजार रुपैयाँमा खेलाडीहरू खरिद गरेको छ।
१६ सदस्यीय टिम स्क्वाडमध्ये १२ जना खेलाडी सुदूरपश्चिमकै रहेको टिम मालिक भण्डारीले बताए। उनले स्थानीय खेलाडीहरूको बर्चश्वले सुदूरपश्चिमका टेनिस बल क्रिकेट खेलाडीहरूमा उत्साह थपेको उल्लेख गरे।खप्तड सुदूरपश्चिम थन्डरको टिम मेनेजर बिक्रम बिष्ट रहेका छन् भने ब्रान्ड एम्बेसडरका रूपमा साइकिल यात्री भरत विक्रम शाह रहेका छन्।
टिमको मार्कि प्लेयरका रूपमा राष्ट्रिय टोलीका पूर्व खेलाडी मेहबुब आलम अनुबन्धित छन्। टिम मालिक भण्डारीले गल्ली टोलमा खेलिने टेनिस बल क्रिकेटलाई व्यवस्थित र व्यावसायिक स्वरूप दिने लक्ष्यसहित प्रतियोगिता आयोजना भएको बताए।“पहिलोपटक टेनिस बल क्रिकेट स्टेडियमसम्म पुग्न लागेको छ,जुन खेलाडीहरूका लागि गौरवको कुरा हो।
”उनले भने,“यसबाट भविष्यमै अझ धेरै क्रिकेट खेलाडी उत्पादन हुने आशा गरेका छौं।”प्रतियोगिता कार्तिक २५ गतेसम्म मुलपानी क्रिकेट मैदानमा चल्नेछ।प्रारम्भिक चरण सिंगल राउन्ड रोबिन प्रणालीमा सम्पन्न हुनेछ।शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्। विजेता टिमले २१ लाख रुपैयाँ, उपविजेताले ११ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ।














