
दोधारा चाँदनी – पछिल्लो समय धेरैले यूट्यूबमा लामो समय बिताउने गरेका छन्। यूट्यूबको सदुपयोग गर्न जानेधेरै लाभ लिन सकिन्छ भन्ने एक उदाहरण बनेका छन्, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका- ७ का भक्तबहादुर महरा।
महरा दुई दशक अघिसम्म अरुको फर्निचरमा काम गर्थे। त्यसबाट परिवारका लागि जोहो गर्न मुस्किल पर्न थालेपछि त्यसको विकल्पको खोजी गरे। एक दिन साथीले काष्ठकलाका सामग्री बनाउने भिडियो उनको मोबाइलमा पठाइदिए। ‘इन्टरनेटमा भिडियो देखेपछि मलाई काठका सामग्री बनाउने इच्छा लाग्यो र यसमै लागेँ’, महराले भने, ‘हाउस डेकोरेसनको काम गर्दा कहिले काम पाइन्थ्यो, कहिले पाइँदैनथ्यो घर खर्च चलाउनै समस्या हुन्थ्यो। अहिले मजदुरीभन्दा यसमा फाइदा छ।’ उहाँले दुई वर्षअघिदेखि विजयसालको काठ र बाँसबाट गिलास, जग, बोतल, अम्खोरा, कचौरा, फूलदानी, मसलादानी, बेलनालगायत सामग्री बनाउने गरेको बताए।

उत्पादन गरिएका काष्ठ र बाँसका सामग्री ५०० देखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुने गरेका छन्। युट्युबकै सहायताबाट अहिले उनले काठका भाँडाकुँडा तयार पार्ने गरेका छन्। ‘अहिले मासिक ४० हजारभन्दा बढी आम्दानी हुन्छ, पहिला महिनौँसम्म खाली बस्नुपथ्र्यो’ महराले भने, ‘यसरी राम्रो आम्दानी गर्न सकिएला भन्ने साचेकै थिइनँ।’ अहिले उहाँले उत्पादन गरेका सामग्री खरिद गर्न घरमै पुग्नुहुन्छ। उनले उत्पादन गरेका सामग्री बिक्री गर्न समस्या नरहेको बताए। ‘माग त धेरै आउँछ, मागअनुसार मैले उत्पादन गर्न सकेको छैन एक्लै छु’, उनले भने, ‘यहाँका सामुदायिक वनले राम्रो गरेका छौँ भनेर कच्चा पदार्थ दिने गरेका छन्।’
स्वदेशमै लगनशील भएर आफ्नो सीपको सदुपयोग गरे यहाँ मनग्य आम्दानी गर्न सकिने महराले बताए।
रासस















