
अत्तरिया – कैलालीको गोदावरीमा १५ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मंसिर १६ गतेदेखि १९ गतेसम्म आयोजना हुने भएको छ । सोमबार बसेको गोदावरी नगरपालिका राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको बैठकले प्रतियोगिता मिति तय गरेको हो ।
समितिले प्रतियोगिता गोदावरी नगरपालिका–२ स्थित दुर्गालक्ष्मी माध्यमिक विद्यालयमा सञ्चालन गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख प्रयागराज जोशीले जानकारी दिए ।

प्रतियोगिता तयारीका लागि शिक्षा शाखाले नगरपालिकाभरका सामुदायिक र संस्थागत विद्यालयलाई मंसिर १० भित्र सहभागी विद्यार्थी र खेलकुद शिक्षकको विवरण उपलब्ध गराउन आग्रह गरेको छ ।
प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, दौड, उफ्रने र फ्याँक्ने खेल (हाई जम्प, लङ जम्प, ट्रिपल जम्प, ज्याभलिङ थ्रो) र मार्शल आर्ट (कराँते, तेक्वान्दो, उसु) समावेश रहने जनाइएको छ । आयोजकले प्रतियोगिता मार्फत विद्यार्थीमा खेलकुदप्रति उत्साह र सशक्त प्रतिस्पर्धाको भावना विकास गर्ने लक्ष्य राखेको छ ।















