दुर्गालक्ष्मी नमूना मावि र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबिच जनशक्ति व्यवस्थापनमा समझदारी

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमूना मावि र दुर्गालक्ष्मी बहुमुखी क्याम्पसबीच जनशक्ति व्यवस्थापनमा समझदारी भएको छ ।

बुधबार दुर्गालक्ष्मी नमूना माविका प्रधानाध्यापक वीरसिंह महता र व्यवस्थापन समिती अध्यक्ष हरि भट्टराई तथा बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नरेन्द्र बहादुर ऎर र शिक्षा शास्त्र संकाय शिक्षण समितिका अध्यक्ष डाक्टर डम्बर बहादुर पालले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

nisarga

समझदारी अनुसार पहिलो पक्षले माग गरे अनुसारको जनशक्ति (Trainee Teacher) दोश्रो पक्षले उपलब्ध गराउने छ भने पहिलो पक्षले माग गरेको खण्डमा आवश्यक पर्ने तालिम सेवा दोश्रो पक्षले उपलब्ध गराउने छ ।

त्यस्तै दोश्रो पक्षका प्रशिक्षार्थीहरुको अभ्यास शिक्षणमा पहिलो पक्षले सहयोग गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ भने जनशक्ति व्यवस्थापन गर्दा वा तालिम, सेमिनार संचालन गर्दा आवश्यक सेवा सुविधा पहिलो पक्षले तोके बमोजिम हुनेछ ।

त्यसैगरी अन्य आवश्यक दुई पक्षीय शैक्षिक गुणस्तरीय हितको कार्यमा समन्वय र सहकार्य गर्ने समझदारी पत्रमा उल्लेख गरिएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्दै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऐरले दुई शैक्षिक संस्थाबीचको सहकार्यले आगामी वर्षमा शिक्षा र जनशक्ति व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे ।

त्यस्तै दुर्गालक्ष्मी नमूना माविका प्रधानाध्यापक महताले विद्यालयमा गुणस्तरीय शिक्षण सुनिश्चित गर्न, शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न र विद्यार्थीहरूको शैक्षिक सुधारमा योगदान पुर्‍याउने लक्ष्यसहित उक्त समझदारी गरिएको बताए ।

त्यस्तै व्यवस्थापन समिति अध्यक्ष भट्टराईले विद्यालय र क्याम्पसबीचको यो पहलले शिक्षक तालिम कार्यक्रमलाई व्यवस्थित गर्दै गुणस्तरीय शिक्षण अभ्यास र पेशागत विकासलाई प्राथमिकता दिने बताए । यस सम्झौताका माध्यमबाट विद्यार्थी र शिक्षक दुवैको विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा रहेको भट्टराईले बताएका छन् ।