एक पालिका दुई उत्पादन कार्यक्रम, आलु उत्पादन गर्दै गोदावरीका २६ किसान

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ का सयराम चौधरी करिब १२ वर्षदेखि कुखुरा फार्म सञ्चालन गर्दै आएका छन् । यो वर्षदेखि उनले घर नजिकै आलु खेती पनि सुरु गरे । आलु उत्पादन गरे बजारीकरणका लागि कुनै समस्या नहुने जानकारी पाएपछि चौधरी आलु खेती गर्न थालेका हुन् ।

करिब १२ कठ्ठा खेतमा आलु रोपेका चौधरीले बुटवलको एक चिप्स कम्पनीसंग खरिद सम्झौता गरेका छन् । चौधरीका अनुसार चिप्स बन्ने साइजको आलु उक्त कम्पनीले खरिद गर्नेछ । बाँकी रहेको आलु बिक्रिका लागि कृषि ज्ञान केन्द्र कैलालीले सहयोग गर्नेछ । कृषि ज्ञान केन्द्र र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले ५० प्रतिशत अनुदान दिएर कृषि र पशु पालक किसानलाई प्रोत्साहन गरिरहेको छ । वडा नम्बर- ८ मजगाउँकै चन्द्रप्रकाश चौधरीले करिब ढाइ विघा जमिनमा आलु खेती गरेका छन् ।

nisarga

पाँच वर्षदेखि आलु खेती गर्दै आएका चौधरीले पनि बुटवलकै चिप्स कम्पनीसंग पनि खरिद सम्झौता गरेका छन् । चौधरीलाई पनि अन्य आलु बिक्रिका लागि ज्ञान केन्द्रले सहयोग गर्नेछ । चौधरीले नगरपालिकाबाट भने आजसम्म कुनै पनि प्रकारको सहयोग नपाएको गुनासो गरे । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्टका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा यस वर्ष एक पालिका दुई उत्पादन कार्यक्रम लागू गरिएको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १ मा रहेको कृषि थोक उपज केन्द्रमा ८० प्रतिशत भन्दा बढी भारतिय आलु आउने भएकोले गोदावरीका किसानलाई आलु उत्पादन गर्न प्रोत्साहन गरिएको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख विष्टले बताए । “स्थानीय बजारलाई मध्यनजर गरी हामीले गोदावरीमा आलु पकेट क्षेत्र नै घोषणा गरेर उत्पादनका लागि किसानलाई प्रोत्साहन गरिरहेका छौँ, विष्टले सुदूर टाईम्ससंग भने, अहिले २६ जना किसानले १० कठ्ठादेखि तीनचार विघासम्म जग्गामा आलु खेती गरिरहनु भएको छ ।”

आलु खेती गरिरहेका गोदावरीका २६ जना किसानका लागि ज्ञान केन्द्रले ४० लाख रकम बजेट छुट्याएको छ, जुन रकम छनोट भएर आलु उत्पादन गरिरहेका किसानले खर्च गरेको बिउ,मल, विषादी,यान्त्रिक उपकरण आदीका आधारमा प्रदान गर्नेछ । कृषि गर्नका लागि निवेदन माग गर्दा निकै न्यून निवेदन पर्ने गरेको विष्टले बताए ।

त्यस्तै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले गोदावरीमा बाख्रा पालन गर्ने व्यक्तिहरुका लागि ४० लाख बजेट विनियोजन गरेको छ । केन्द्रले ५० प्रतिशत अनुदानमा बाख्राको खोर निर्माण गरिदिने भएको छ । खोर निर्माणका लागि यहि पुस ८ गतेसम्म निवेदन पेश गर्न सकिने केन्द्रका वरिष्ठ पशु विकास अधिकृत चन्द्रकान्त पन्तले बताएका छन् ।