
अछाम – आलु बालीमा डढुवा रोगको प्रकोप देखा परेको छ । रोगको प्रकोपले फल नलाग्दै आलुका बोट सुक्न थालेपछि व्यावसायिक आलु कृषक चिन्तित बनेका छन् ।
डढुवाको प्रकोप अछामको साँफेबगरस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले लगाएको आलुमा बढी देखिएको हो ।

उक्त सहकारीले खेती गरिएको आलु बालीमा डढुवा रोगको प्रकोप देखिएको हो ।
सहकारीले भाडामा प्रयोग गरेको कुल २० रोपनी जग्गामध्ये करिब १० रोपनी क्षेत्रफलमा लगाइएको आलु बाली पूर्ण रुपमा सखाप भएको छ ।
संस्थाका अध्यक्ष सुरत भूलका अनुसार डढुवा रोगका कारण सहकारीलाई तीन लाख रुपियाँभन्दा बढीको क्षति पुगेको छ ।
उनले मौसममा आएको अचानक परिवर्तन, चिस्यान र निरन्तरको ओसिलो वातावरणका कारण रोग फैलिएको बताए ।
किसानले धेरै मिहिनेत गरेर लगाएको बाली एकाएक नष्ट हुँदा ठुलो आर्थिक क्षति बेहोर्नु परेको अध्यक्ष भूलको भनाइ रहेको छ ।
डढुवा रोगको अवस्था बुझ्न तथा प्राविधिक सहयोगका लागि राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई अछामका प्राविधिक पूर्ण प्रसाद ढुंगाना प्रभावित आलु बालीको निरीक्षण गरेका थिए ।
उनले आलुमा देखिने डढुवा रोगका लक्षण, कारण र नियन्त्रणका उपायहरु बारे कृषकलाई जानकारी गराए ।
प्राविधिक ढुंगानाका अनुसार डढुवा रोग लाग्दा आलुको पात कालो हुने, डाठ सुक्ने र अन्ततः बोटै नष्ट हुने समस्या देखिन्छ ।
समयमै रोग पहिचान गरी उपयुक्त विषादी प्रयोग गर्न सके क्षति न्यूनीकरण गर्न सकिने उनको भनाइ रहेको छ ।
उनले आगामि दिनमा आलु खेती गर्दा असोज महिनामा गर्न सुझाव दिँदै मौसम अनुकूल बाली व्यवस्थापन गर्न आग्रह गरे ।
यसैबिच, युनाईटेड अजोड इन्स्योरेन्स कम्पनी साँफेबगर शाखाका प्रमुख प्रेमराज रेग्मीले सहकारीले गरेको बिमा अनुसार क्षतिपूर्ति भुक्तानीका लागि बिमा कम्पनीमार्फत पहल गर्ने बताएका छन् ।
उनले आवश्यक कागजात सङ्कलन र प्रक्रिया पूरा भए पछि बिमाबाट राहत उपलब्ध गराउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।














