नगर प्रमुख भट्ट भन्छन् – गोदावरीका लागि ल्याएको ३७ करोड रकम वर्तमान सरकारले रोक्यो (भिडियो)

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले गोदावरी नगरपालिकाको विकासका लागि ल्याएको बजेट वर्तमान सरकारले रोकेको बताएका छन् ।

बुधबार गोदावरी धाममा बाह्रराशि दर्शन मकर मेलाको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भट्टले गोदावरी नगरपालिकाको विकासका लागि संघबाट ल्याएको बजेट वर्तमान सरकारले रोकेको बताएका हुन् ।

nisarga

संघिय सरकारमा आफूले दशौंपटक गएर ल्याएको ३७ करोड बराबरको रकम अहिलेको सरकारले रोकेको भट्टको भनाई छ ।

वर्तमान सरकारले ३७ करोड बजेट रोक्दा गोदावरीधाममा तटबन्ध गर्ने योजना बमोजिम परेको तीन करोड पनि रोकिएको उनले बताए ।

‘यसपाली गोदावरी नगरपालिकाको लागि दशौंपटक संघीय सरकारसम्म गएर ल्याएको ३७ करोड बराबरको बजेट अहिलेसम्म वर्तमान सरकारले रोकेको अवस्था छ’, ‘उनले भने, सुदूरपश्चिम प्रदेशको कुरा गर्नुहुन्छ भने साढे ६ अरब रुपैयाँ अहिले रोकिएको छ ।’

गोदावरीसहित सुदूरपश्चिमको विकासको लागि विनियोजित यति ठुलो रकम रोकिएको अवस्थामा जेनजी आन्दोलनमा नेतृत्व गर्ने र आन्दोलनका नाममा आगजनी गर्नेहरुले पहल गर्नुपर्ने भट्टको भनाई छ ।

‘अहिले उहाँहरुको सरकार छ । सुदूरपश्चिमको विकासका लागि विनियोजन भएको यति ठुलो बजेट, संघीय सरकारको रातो किताबमा निस्किसकेका योजनाहरु नरोक्नका लागि पनि साथीहरु लाग्नुपर्यो, त्यसका लागि हाम्रो पनि सहयोग चाहिन्छ भने हामी पनि तयार छौँ भट्टले भने ।’

भदौ २३ र २४ गतेको आन्दोलनले देशलाई सिद्य्याएको उनले बताए । भ्रष्टाचारको अन्त्य गर्ने, सुशासन कायम गर्ने लगायतका जेनजीका जायज मागहरुहरुमा आफूहरुको सहमति भए पनि जनताकै सम्पत्ति नगरपालिकाको भवनसहित देशका ठुलाठुला संरचनाहरु जलाउने कार्य उचित नभएको भट्टले बताए ।

गोदावरी धामको विकासको लागि धाममा मुल समिति निर्माण गरेर अगाडि बढ्नुपर्ने पनि उनको भनाई छ । समिति निर्माणका लागि नगरपालिकाले ऐन,कानुन र कार्यविधी बनाइसकेको छिटै कार्यान्वयन पनि गरिने भट्टले बताएका छन् ।

हेर्नुहोस् भिडियो: