
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ स्थित गोदावरी धाममा राम जानकी मन्दिर निर्माण हुँदै छ। भिमदत्त पन्त राजमार्ग अन्तरगत गोदावरी धाममा रहेको हनुमानको मुर्तिसंगै भव्य राम जानकी मन्दिर निर्माण भइरहेको हो।
२०७४ सालको रामनवमीमा शिलान्यास गरिएको उक्त मन्दिर स्थानीय सरकार, प्रदेश सरकार र दाताहरुको सहयोगबाट निर्माण भइरहेको हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाहीले बताए ।

उनका अनुसार २०८४ सालमा गोदावरी धाममा लाग्ने महाकुम्भ मेलालाई लक्षित गरी राम जानकी मन्दिर निर्माण सम्पन्न गर्ने समितिको तयारी रहेको छ । तर त्यसको आर्थिक अभाव भइरहेको शाहीले बताएका छन् ।
स्थानीय सरकारको चालिस लाख ५० हजार र प्रदेश सरकारको ९० लाख रकम मन्दिरमा खर्च भएको उनले बताए । ५ करोड ९३ लाखको डिपीआर भएको मन्दिरको करिब ५० प्रतिशत काम सम्पन्न भएकोमा बाँकी दाताहरुले सहयोग गरेको शाहीले बताए ।
“करिब ६ करोडको डिपीआर तयार भएको छ, स्थानीय सरकारको चालिस लाख ५० हजार र प्रदेश सरकारको ९० लाख रकम हामीले पाएका छौँ,उनले भने कसैले इटा, कसैले छड, कसैले बालुवा सिमेन्ट सहयोग गरेका छन्, जसले जे सहयोग गर्न चाहन्छन् हामीले त्यहि ग्रहण गरिरहेका छौँ ।”
मन्दिरभित्र बनाइने रामायण सङ्ग्रहालयमा रामको जिवनचक्र पनि निर्माण गरिने शाहीले बताए । त्यस्तै राम दरवारभित्र सुदूरपश्चिमका नौ वटै शक्तिपिठहरुको स्थापना गरिने उनले बताए ।
राम जानकी मन्दिर निर्माण सम्पन्न भएमा आन्तरिक तथा बाह्य पर्यटकहरु भित्र्रयाउन सकिने शाहीको भनाई छ । आर्थिक अभावले निर्धारित समयमा निर्माण सम्पन्न गर्न चुनौती रहेको भन्दै शाहीले सबैपक्षसंग आग्रह गरेका छन् ।















