
अत्तरिया – कैलालीमा वन्यजन्तुको अंग र भरुवा बन्दुकसहित दुई जना पक्राउ परेको घटनामा मुद्दा कमजोर बनाएको आरोप लागेको प्रकरणमा तीन जना प्रहरीमाथि विभागीय कारवाही गरिएको छ ।
बरामद गरिएको अंग लुकाउने कार्यमा प्रत्यक्ष रुपमा संलग्न भएका भनिएका इलाका प्रहरी कार्यालय मालाखेतीका तत्कालीन मुद्दा फाँट प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारी र सोही शाखामा कार्यरत वरिष्ठ सई दिपेन्द्र भट्टलाई प्रहरी नियमावलीअनुसार कारवाही गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुुख प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दलाई समेत विभागीय कारवाही गरिएको जनाएको छ ।

चन्द, भण्डारी र भट्टलाई प्रहरी नियमावली २०७१ बमोजिम अभिलेखमा जनिनेगरि नसियत दिइएको प्रहरीले जनाएको छ । यो घटनामा जोडिएका प्रहरी सहायक निरीक्षक कर्ण पार्कीसहितका अन्य १० प्रहरीलाई पनि रेकर्डमा जनिनेगरि सचेत गराइएको छ ।
उनीहरुलाई कैलालीका प्रमुुख प्रहरी उपरीक्षक(एसपी) नरेन्द्रबहादुर चन्दले प्रहरी नियमावलीअनुसार विभागीय कारवाही गरेका हुन् । गत साउन ९ गते गोदावरी नगरपालिका–८ बाट दुई भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टासहित २३ वर्षीय चन्द्रबहादुर चौधरी र राजकुमार चौधरी पक्राउ परेका थिए । तर मुद्दा चलाउने क्रममा बरामद चित्तलको सिङ र खुट्टाको विवरण गायब पारिएको भेटिएको थियो ।
त्यसपछि तत्कालीन अनुसन्धान अधिकृत प्रहरी निरीक्षक भण्डारीसहितका प्रहरीमाथि छानबिन सुरु गरिएको थियो । प्रहरी निरीक्षक दानसिंह भण्डारीविरुद्ध योसँगै अन्य विभिन्न आरोपसहित प्रहरी मुख्यालयमा उजुरी परेको थियो । सुरुमा मालाखेतीकै प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दको नेतृत्वमा समिति गठन गरिएको थियो ।
सो समितिले प्रतिवेदनमा चित्तलको सिङ र खुट्टा फेला नपरेको उल्लेख गरेपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवको नेतृत्वमा अर्को समिति गठन गरेको थियो । समितिले प्रतिवेदनमा वन्यजन्तुको अंग लुकाउन भूमिका खेलेको निष्कर्ष निकाल्दै नियमअनुसार कारबाही सिफारिस गरेको थियो ।















