
अत्तरिया – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफ्ना नागरिकलाई आवश्यक पर्ने सबै रगत निशुल्क व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाले गरेका कामबारे जानकारी दिन उपमहानगरपालिकाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै हमालले यस्तो प्रतिवद्धता गरेका हुन् ।

कति रगत चाहिन्छ भन्नेकुरा मेयर, उपमेयर,अध्यक्ष वा कार्यालय प्रमुखले निर्णय गर्ने नभई बिरामीको अवस्था र रोगको प्रकृतिअनुसार हुने भएकोले डाक्टरले दिएको पर्चा लिएर रक्तसञ्चार केन्द्रमा सहजरुपले रगत लिन उनले धनगढीबासीलाई आग्रह गरेका छन्।
“धनगढीबासीलाई म ढुक्क बस्न अनुरोध गर्छु, उनले भने, डाक्टरले दिएको पर्चा लिएर रक्तसञ्चार केन्द्रमा जाने, एउटा बिरामीलाई जति रगत चाहिन्छ धनगढी उपमहानगरपालिकाले निशुल्क उपलब्ध गराउँछ । उहाँहरुले नगरपालिका पनि आउनु पर्दैन । रत्तसञ्चार केन्द्र आफैले तीनतीन महिनामा विवरण नगरपालिकामा पेश गर्छ ।”
नागरिकको स्वास्थ्य उपचारमा सहयोग पुगोस् भन्ने उदेश्यले निःशुल्क रगत र रगतजन्य पर्दाथ उपलब्ध गराउन थालिएको नगर प्रमुख हमालले बताए ।
उपमहानगरले आर्थिक वर्ष २०८१/८२ मा ४६० जना बिरामी तथा चालु आर्थिक वर्षको फागुनसम्म २१३ जना बिरामीसहित कुल ६७३ जनालाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख योगेश कुमार अवस्थीले बताएका छन् ।
आर्थिक वर्ष २०८१/८२ मा एक हजार ५३० पिन्ट तथा चालु आर्थिक वर्षको फागुनसम्म थप ५८२ पिन्टसहित नागरिकलाई कुल दुई हजार १२२ पिन्ट रगत तथा रगतजन्य पदार्थ निःशुल्क उपलब्ध गराएको उनले बताए ।
२०८१ साउन १ गतेदेखि सुरु भएको उक्त कार्यक्रम अन्तर्गत हालसम्म नगरपालिकाले २४ लाख ४० हजार ३०० रुपैँया रत्तसञ्चारकेन्द्रलाई उपलब्ध गराएको अवस्थीले बताए ।
जनताले प्रत्यक्ष लाभ पुग्ने गरी निशुल्क रगत र सहायता सामग्री उपलब्ध गराउने कार्यक्रम आफूहरुले अगाडि सारेको उपमहानगरपालिकाकी उप प्रमुख कन्दकला रानाले बताइन् ।
पुल पुलेसा, शिलन्यास र उद्धघाटनलाईमात्रै विकास देख्ने आम नागरिकको बानी परेकोले जस भने नपाइएको उनले गुनासो गरिन् ।













