डडेल्धुरा अस्पतालका ४ विशेषज्ञ चिकित्सकको काज फिर्ता

Image
maya metro

डडेल्धुरा – पहुँचको भरमा सुगम क्षेत्रमा काज मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई आफ्नै दरबन्दी रहेको कार्यस्थलमा फर्काउने सरकारी अभियान अन्तर्गत डडेल्धुरा अस्पतालका चार जना विशेषज्ञ चिकित्सकको काज फिर्ता गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताको निर्णयपछि देशभर स्वास्थ्य सेवा सन्तुलित बनाउन पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको मूल कार्यस्थलमा फिर्ता पठाइएको हो।

nisarga

यसैक्रममा डडेल्धुरा अस्पतालमा दरबन्दी रहेका चार विशेषज्ञ चिकित्सकलाई पनि काजबाट फिर्ता बोलाइएको छ। काज फिर्ता हुनेमा नवौँ तहका डा. सन्तोषकुमार गुप्ता, कन्सल्टेण्ट डर्माटोलोजिष्ट डा. मिसन्ता शर्मा, कन्सल्टेण्ट सर्जन डा. नविन चन्द्र भट्ट र वरिष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट डा. सुयोग्य वाग्ले रहेका छन्।

उनीहरू हाल विभिन्न प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा स्वास्थ्य संस्थामा काजमा कार्यरत थिए। मन्त्रालयका अनुसार दुर्गम जिल्लामा विशेषज्ञ चिकित्सकको अभाव हटाउन, लामो समयदेखि चल्दै आएको सुगम रोज्ने प्रवृत्ति नियन्त्रण गर्न तथा स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यो कदम चालिएको हो।

यस निर्णयसँगै डडेल्धुरा अस्पतालमा विशेषज्ञ सेवा सुदृढ हुने र स्थानीय नागरिकले आफ्नै जिल्लामा सहज रूपमा उपचार पाउने अपेक्षा गरिएको छ।