
पश्चिम एसियामा एक महिनादेखि जारी युद्धको प्रभाव आन्नतरिक हवाइ उडानमा परेको छ । हवाई इन्धनको मूल्य ९८ प्रतिशतले बढेपछि आन्तरिकमा हवाई उडानको भाडा समेत झण्डै दोब्बरले वृद्धि भएको छ ।
वायुसेवा सञ्चालक संघका सदस्य एवं बुद्ध एयरका निर्देशक रुपेश जोशीका अनुसार इन्धनको मूल्यवृद्धि भएकै कारण हवाई भाडाअन्तर्गत फ्यूल सर चार्ज बढ्दा सबैभन्दा धेरै हवाई भाडा काठमाडौं-धनगढी रुटको पुगेको छ ।

नयाँ दरअनुसार काठमाडौं–धनगढी रुटको भाडाअन्तर्गत फ्यूल सर चार्ज एकैपटक ५४ सय ८० रुपैयाँले बढेको छ । मंगलबारसम्म वायुसेवा कम्पनीले यो रुटको टिकटअन्तर्गत इन्धनमा लाग्ने शुल्क ( फ्यूल सर चार्ज) ५६ सय १० रुपैयाँ मात्रै थियो । अब धनगढीको हवाई भाडामा फ्यूल सर चार्ज मात्रै ११ हजार ९० पुगेको छ । यसमा एयर फेयर र विमानस्थल सेवा शुल्क अलगै तिर्नुपर्ने छ ।
यसैबीच अब काठमाडौंबाट हुने पर्वतीय (माउन्टेन) उडानमा ४२ सय ५५ रुपैयाँले वृद्धि भई ८ हजार ६१५, काठमाडौं-सुर्खेतमा ४२ सय ८५ ले वृद्धि भई ८ हजार ६५७, काठमाडौं-नेपालगन्ज रुटमा ४ हजार ४५ ले वृद्धि भई ८ हजार १८५, काठमाडौं– भद्रपुर रुटमा ३७ सय २५ ले वृद्धि भई ७५ सय ४०, काठमाडौं–पोखरा रुटमा १९ सय ७० ले वृद्धि भई ३९ सय ८५, काठमाडौ–जनकपुर रुटमा १६ सयले वृद्धि भई ३२ सय ३०, काठमाडौं-भरतपुर रुटमा १३ सय ३० रुपैयाँले वृद्धि भई २६ सय ९०, काठमाडौं- विराटनगर रुटमा २९ सय ८० रुपैयाँले वृद्धि ६ हजार २०, काठमाडौं-भैरहवा रुटमा २५ सय ५५ रुपैयाँले वृद्धि भई ५१ सय ७० र काठमाडौं-सिमरा रुटमा ११ सय २० रुपैयाँले भाडा वृद्धि भइ २२ सय ६० रुपैयाँ फ्लयु सर चार्ज मात्रै बढेको छ ।















