गोदावरीमा तीन वडाका ९४१ जनामा सिकलसेल जाँच, १३१ जनामा पोजेटिभ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका १३१ जनामा प्रारम्भिक चरणमा सिकलसेल रोग पहिचान भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले सिकलसेल एनिमिया–थालसेमिया पहिचान तथा निदानका लागि वडा नम्बर ७,८ र ९ मा निःशुल्क ‘स्क्रिनिङ’ स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको शिविरमा ९४१ जनाको रगत परिक्षण गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले जानकारी दिएका छन् । वडा नम्बर ७ को जमुनानगर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा २३९ जनाको रगतको नमूना परिक्षण गरिएकोमा २३ जना महिला र ११ जना पुरुष गरी ३४ जनामा बाहक (ट्रेट)देखा परेको थियो ।

nisarga

त्यस्तै मंगलबार स्याउले आधारभूत स्वास्थ्य सेवा केन्द्रमा सिकलसेल एनिमिया तथा थालासेमिया रोग निदानका लागि निशुल्क स्क्रिनिङ शिविर सञ्चालन गरिएको थियो । शिविरमा ३९९ नमूना जाँच गरिएको मा २४ पुरुष ४३ महिला गरी ६७ जनामा पोजेटिभ देखिएको थियो । आज बेलादेवीपुर आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ३०३ जनामा गरिएको परिक्षणमा ८ पुरुष र २२ महिला गरी ३० जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताएका छन् ।

प्रारम्भिक जाँचकाक्रममा पोजेटिभ देखिएका यि नमूनाहरुलाई दोस्रो चरणको जाँचका लागि गेटा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा पठाइनेछ । दोस्रोपटक पनि पोजेटिभ आएमा आवश्यक औषधी उपचार सुरु गर्ने गरिन्छ । रानाथारु समुदायमा यो रोग प्रमुख जनस्वास्थ्य समस्याको रूपमा रहेको अवस्थीले बताए ।

समयमै यसको रोकथामका उपाय अवलम्बन गर्न नसकिए अवस्था झन् भयावह हुनसक्ने भएकाले नगरपालिकामा रानाथारु समुदायको बसोबास उच्च रहेका वडामा यो रोगको पहिचान तथा निदानको लागि निशुल्क शिविर आयोजना गरिएको उनले बताएका छन् । सिकलसेल वंशाणुगत रोग भएकोले विवाहपूर्व परीक्षण अनिवार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

सिकलसेल रोग लागेपछि हाडजोर्नी दुख्ने, थकान हुने, रगतको कमी हुने लगायतका समस्या देखिने गर्छन् । तर वाहक (ट्रेट) व्यक्तिमा लक्षण देखिँदैन । अवस्थीका अनुसार यो रोग लागेपछि पूर्णरूपमा उपचार सम्भव छैन । बिरामीले आजीवन औषधि सेवन गर्दै नियमित स्वास्थ्य निगरानी गर्नुपर्ने हुन्छ ।

सरकारले सिकलसेल रोगीका लागि एक वर्षमा अधिकतम एक लाख रुपैयाँसम्मको उपचार निशुल्क गर्दै आएको छ ।