मेयर हमालद्वारा आफूले पाउने सेवा सुविधाबाट ४४ लाखको सामाजिक सहयोग

Image
maya metro

धनगढी – धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आफूले पाउने पारिश्रमिक तथा सेवा–सुविधा बापतको रकम सामाजिक क्षेत्रमा खर्च गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएका छन्।
सोही अनुसार शुक्रबार उनले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका हुन्।

मेयरमा निर्वाचित भएदेखि नै सरकारी सुविधा नलिने घोषणा गरेका हमालले हालसम्म प्राप्त सम्पूर्ण रकम शिक्षा, गौ–सेवा र असहायहरूको सहयोगमा खर्च गर्दै आएका हुन्।

nisarga

हमालले आर्थिक वर्ष २०७८-०७९ मा प्राप्त गरेको १ लाख ३७ हजार २ सय ७३ रुपैयाँ पूर्ण रूपमा खर्च गरिएको थियो । जसमध्ये गौ संरक्षण सेवा समितिलाई ५५ हजार ६ सय ८७ र दक्षिणकाली आधारभूत बहिरा आवासीय विद्यालयलाई ८१ हजार ५ सय ८६ रुपैयाँ नगद सहयोग गरिएको थियो ।

यस्तै आर्थिक वर्ष २०८०-०८१ मा कक्षा ८ को वार्षिक परीक्षामा शून्य नतिजा आएका १७ वटा सामुदायिक विद्यालयका ३ हजार ४ सय ८९ जना विद्यार्थीहरूलाई कापी, पेन्सिल, कटर र इरेजर जस्ता शैक्षिक सामग्री वितरण गरिएको थियो । जसमा ९ लाख ९२ हजार ६ सय ५ रुपैयाँ खर्च भएको थियो ।

यस्तै चालु आर्थिक आर्थिक वर्ष २०८१-०८२ मा प्राप्त रकमबाट धनगढीका ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ७ हजार ४ सय ७५ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ। जस अन्तर्गत १० लाख रुपैयाँ बराबरको स्टेशनरी सामग्री शुक्रवार हमालले वितरण गरे।

यस्तै आगामी २०८२-०८३ मा पनि प्राप्त हुने सेवा सुविधाको रकम पनि सामाजिक काममै खर्च गर्ने गरी तयारी भइरहेको हमालले बताए। थप ५ लाख व्यक्तिगत सहयोग गरी ४४ लाख पुर्‍याइने उनको योजना छ।

नगर प्रमुख हमालको सेवा–सुविधाबाट हालसम्म कुल ३८ लाख ८२ हजार ८ सय ७३ रुपैयाँ प्राप्त भएको छ। हालसम्म २३ लाख ९७ हजार भन्दा बढी खर्च भइसकेको र बाँकी रहेको रकममा नगर प्रमुख हमालले आफ्नो व्यक्तिगत तर्फबाट ५ लाख १७ हजार १ सय २६ रुपैयाँ थप गर्ने घोषणा गरेका छन्। यसरी आफ्नो सेवा सुविधा र व्यक्तिगत सहयोग समेत गरी कुल ४४ लाख रुपैयाँ सामाजिक विकासका क्षेत्रमा वितरण गरिने उनले जानकारी दिए।

विशेषगरी सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूको शिक्षामा पहुँच पुर्‍याउने र सामाजिक अभियानहरूलाई सहयोग गर्ने उद्देश्यले यो कार्य गरिएको उनले जानकारी दिए।