
अत्तरिया – बुढीतोला क्षेत्रको पर्यटन प्रर्वद्धन तथा बजार व्यवस्थापन समितिले सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयलाई ५ बुँदे ज्ञापनपत्र बुझाएको छ । सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालामार्फत ५ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमार्फत बुढीतोला क्षेत्रलाई हरियाली तथा आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सडकको दायाँबायाँ तथा खाली भूभागहरूमा फूलका बिरुवा एवं वृक्षारोपण कार्यक्रम सञ्चालन गर्न कम्तीमा रु. ५० लाख बजेट विनियोजन गरिदिन आग्रह गरेको छ ।

त्यस्तै बुढीतोला क्षेत्रमा साहसिक पर्यटन प्रवद्धनका लागि बन्जी जम्प सञ्चालन गर्न आवश्यक प्रारम्भिक सम्भाव्यता अध्ययन कार्य तत्काल सुरु गरिदिन तथा सामुदायिक वनभित्र पर्यापर्यटन कार्ययोजना निर्माण गरी सञ्चालनमा ल्याइएको फोक्सीडॉडा पर्यटन प्रवर्धन कार्यक्रम तथा चिसापानी पिकनिक पार्कको स्तरउन्नतिका लागि आवश्यक बजेट, प्राविधिक तथा संरचनागत सहयोग उपलब्ध गराइदिन समितिले माग गरेको छ ।
त्यस्तै बुढीतोला क्षेत्रलाई सुदूरपश्चिम प्रदेशकै नमुना पर्यटकीय स्थल घोषणा गरी सहस्त्रधारा जाने बाटोमा पदमार्ग निर्माण तथा सहस्त्रधारा दर्शनपछि सहस्त्रधाराबाट कम्पासे धुरा जोड्ने पदमार्ग निर्माण गरिदिन र बुढीतोलाका प्रत्येक घरमा होमस्टे अवधारणा विस्तार गरी स्थानीय रोजगारी, संस्कृति संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि होमस्टे सम्बन्धी तालिम, अनुदान तथा प्रवर्धनात्मक कार्यक्रम सञ्चालन गरिदिन समितिले माग गरेको छ ।
















