अत्तरियाको एक होटलबाट लागूऔषधसहित चार जना पक्राउ

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२ महेन्द्रनगर रोडस्थित एक होटलबाट प्रहरीले अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ।

शुक्रबार दिउँसो इलाका प्रहरी कार्यालय मालाखेती र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले खैरो हेरोइन जस्तो देखिने १२० मिलिग्राम धुलो पदार्थसहित चार जनालाई पक्राउ गरेको हो।

nisarga

पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ घर भई हाल गोदावरी नगरपालिका–२ बस्ने ३६ वर्षीय तिलक बहादुर वली, धनगढी उपमहानगरपालिका–१० बस्ने १९ वर्षीया संगिता राना, कैलारी गाउँपालिका–८ बस्ने १९ वर्षीया नबिना चौधरी र बझाङको जयपृथ्वी नगरपालिका–७ बस्ने १९ वर्षीया अस्मिता खत्री रहेका छन्।

प्रहरीका अनुसार लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा तिलक बहादुर वलीले सञ्चालन गरेको “आर. बि. होटल” मा खानतलासी गरिएको थियो। सो क्रममा होटलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला परेपछि चारै जनालाई पक्राउ गरिएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।