
डडेल्धुरा – डडेल्धुराको परशुराम नगरपालिका–१२ मा पर्ने बुडर–जोगबुडाको खप्वाखोलाको पुल निर्माण हुन नसक्दा जोगबुडावासी निराश भएका छन् । दुई वर्षअघि नै निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पक्की पुल छ वर्ष बितिसक्दा पनि नबनेपछि स्थानीय निराश भएका हुन् ।
यो पुलले डडेल्धुराको करिब आधा जनसङ्ख्या रहेको भित्री मधेश जोगबुडा क्षेत्रलाई जिल्ला सदरमुकाम र अन्य जिल्लासँग जोड्ने अपेक्षा गरिएको थियो ।

दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा निर्माण सुरु गरिएको पुल आधा निर्माण भएपछि अलपत्र अवस्थामा छोडिएको चार वर्ष भइसक्यो । दुई पटक म्याद थप गर्दासमेत पुल निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय डोटीका कार्यालय प्रमुख रमेश भट्टराईले बताए ।
उनका अनुसार दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७७ सालमा राजेन्द्र निर्माण सेवाले पुल निर्माणको जिम्मेवारी पाएको थियो । उनले भने, “पछिल्लो पटक २०८२ चैत मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरेर म्याद थप गरिए पनि कम्पनीले निर्माण नै सुरु गरेको छैन ।
पुल निर्माणका लागि प्रयोग गरिएका छड खिया लागेर जीर्ण बनिसके र कतिपय सामग्री चोरी भइसके ।” पुल नहुँदा यस क्षेत्रका स्थानीयलाई बर्सातको समयमा निकै समस्या पर्ने गरेको छ ।















