
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशिला शाहीसँगको विवादका बीच लम्कीचुहा प्रादेशिक अस्पताल उदघाटन गर्ने कार्यक्रम राखेपछि वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुख्यमन्त्री शाह आज बिहान अस्पताल उदघाटन गर्न लम्कीचुहा आउने कार्यक्रम छ । मुख्यमन्त्री पुग्नुअघि नै उल्लेख्य संख्यामा प्रहरीहरु तैनाथ गरिएको छ ।

१५ शय्याको लम्कीचुहा अस्पताल सञ्चालनको विषयमा प्रदेश सरकार र नगरपालिकाबीच सहमति बन्न सकेको छैन । प्रदेशको सामाजिक विकास मन्त्रालयले अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कमलेशप्रसाद यादवसहितका तीन जना कर्मचारी गत वैशाखमा पठाएको थियो ।
तर मेयर शाहीले अस्पताल प्रदेशलाई हस्तान्तरण नभएको भन्दै उनीहरूलाई हाजिर नगर्न भनेपछि विवाद बढेको थियो । सोही विवादका कारण गत वैशाख ३० गते अस्पतालमा तालाबन्दीसमेत भएपछि लम्की क्षेत्रमा तनाव भएको थियो ।
प्रादेशिक अस्पताल बनाउने सबै प्रक्रिया पूरा गरेर प्रदेशले बजेट समेत विनियोजन गरिसकेको छ तर नगरपालिकाले अस्पताल हस्तान्तरण गर्न नमान्दा विवाद भइरहेको छ । सोही क्षेत्रबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह र मेयर सुशीला शाहीबीचको आन्तरिक द्वन्द्वका कारण समस्या सिर्जना भएको दाबी गरिएको छ ।
अस्पतालको विषयलाई लिएर मेयर शाहीका समर्थकहरूले प्रदर्शन र अवरोध गर्न सक्ने भन्दै आज बिहानैदेखि सुरुक्षा व्यवस्था कडा पारिएको छ ।















