
अत्तरिया – वन अतिक्रमण गरी बनाइएका घर टहरा डिभिजन वन कार्यालय धनगढीले भत्काएको छ ।
शुक्रबार डिभिजन वन कार्यालय धनगढीको टोलीले भिमदत्त राजमार्ग अन्तरगत कैलालीको गोदावरी-४ स्थित गोदावरी सामुदायिक वन क्षेत्र अतिक्रमण गरी बनाएका ४७ वटा घर टहरा सशस्त्र प्रहरी र नेपाल प्रहरी समेतको सहयोगमा भत्काएको हो ।

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरले पटकपटक सचेत गराउँदा पनि अतिक्रमित क्षेत्र खाली नगरेपछि डोजर लगाउन बाध्य भएको बताएका छन् ।
गोदावरी पुलदेखि माथि करिब ४ किलोमिटरसम्म सडकको छेउछाउमा अतिक्रमण तिव्ररुपमा बढेको उनको भनाई छ ।
अतिक्रमित क्षेत्र खाली गराउनेक्रममा टोलीले दुई जनालाई नियन्त्रणमा लिएको छ । अतिक्रमित क्षेत्र खाली गर्ने अभियान निरन्तर जारी रहने ठाकुरले बताएका छन् ।
केहि दिन अघि गोदावरी-८ स्थित स्याउलेका करिब ३० घर टहरा डिभिजन वन कार्यालय धनगढीले खाली गराएको थियो ।















