
धनगढी – कैलालीको गोदावरी नगरपालिका-४ स्थित गोदावरी सामुदायिक वनअन्तर्गत चुरे क्षेत्रमा अतिक्रमण हटाउने अभियानका क्रममा टेम्पो भीरबाट खसेको घटनालाई लिएर सामाजिक सञ्जालमा फैलाइएका आरोपप्रति डिभिजन वन कार्यालय कैलालीले आपत्ति जनाएको छ। कार्यालयले वन कर्मचारीले टेम्पोलाई जानाजान भीरबाट धकेलेर खसालेको भन्ने प्रचार तथ्यहीन रहेको दाबी गर्दै घटनाको वास्तविकता सार्वजनिक गरेको छ।
डिभिजन वन कार्यालय कैलालीले जारी गरेको प्रेस विज्ञप्तिअनुसार उक्त क्षेत्र नेपालकै संवेदनशील तथा कमजोर पर्यावरणीय प्रणाली रहेको चुरे क्षेत्रभित्र पर्दछ। वर्षौंदेखि सार्वजनिक वन क्षेत्र अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गर्ने, टहरा–छाप्रा निर्माण गर्ने तथा सरकारी वन जमिन कब्जा गर्ने गतिविधि भइरहेका कारण वन प्रशासनले समय–समयमा अतिक्रमण नियन्त्रण अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यालयका अनुसार पछिल्लो पाँच महिनादेखि सो क्षेत्रमा पुनः अवैध संरचना निर्माण गरिएको थियो। सामाजिक सञ्जालमा चर्चा गरिएजस्तो उक्त टेम्पो सञ्चालन अवस्थाको सवारी साधन नभई इन्जिन तथा अन्य महत्वपूर्ण भाग निकालिएको पुरानो फलामे संरचना मात्र रहेको दाबी गरिएको छ। वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले निर्माण गरिएको टहराको पर्खालका रूपमा सो टेम्पोको संरचना प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ।
वन कार्यालयका अनुसार करिब एक महिनाअघि नै उक्त संरचना हटाउन निर्देशन दिइएको थियो। त्यस क्रममा अन्य टहरा तथा छाप्रा हटाइए पनि सम्बन्धित पक्षले अटेर गरेपछि वन कर्मचारीहरूले टेम्पोलाई धकेलेर नजिकैको सडकसम्म पुर्याइदिएका थिए। तर त्यसपछि पुनः सोही स्थानमा ल्याएर राखी अतिक्रमणलाई निरन्तरता दिइएको कार्यालयको भनाइ छ।
जेठ २९ गते पुनः अतिक्रमण हटाउने अभियान सञ्चालन गर्दा उक्त टेम्पोलाई हटाउने क्रममा बल प्रयोग गरी पछाडि सारिएको र सोही क्रममा भौगोलिक बनावट तथा जमिनको असन्तुलनका कारण नियन्त्रणबाहिर गई भीरबाट खसेको कार्यालयले जनाएको छ। वन कर्मचारीले नियतवश भीरबाट धकेलेर खसालेको भन्ने आरोपमा कुनै सत्यता नरहेको दाबी गरिएको छ।
वन कार्यालयले चुरे क्षेत्र संरक्षण, सार्वजनिक वनको सुरक्षा तथा अतिक्रमण नियन्त्रण कानुनअनुसार भइरहेको उल्लेख गर्दै घटनालाई अतिरञ्जित रूपमा प्रस्तुत नगर्न र तथ्यमा आधारित सूचना मात्र सम्प्रेषण गर्न सञ्चारमाध्यम तथा सर्वसाधारणसँग आग्रह गरेको छ।
कार्यालयले वन संरक्षणको अभियानलाई कमजोर पार्ने उद्देश्यले फैलाइने भ्रमपूर्ण प्रचारप्रति सचेत रहन समेत सबै पक्षलाई अनुरोध गरेको छ।
तर सडकबाट उक्त टेम्पो खसालेको भिडियो भने यतिबेला सामाजिक सञ्जालमा व्यापक भाइरल भइरहेको छ। सोही भिडियो व्यापक भाइरल भएपछि वनका कर्मचारीसँगै सरकारको समेत आलोचना हुन थालेपछि जिल्ला वन कार्यालयले आज पत्रकार सम्मेलन गर्दै विज्ञप्ति जारी गरेको हो।















