
धनगढी – केही दशकअगाडिसम्म थारू समुदायले खेती गर्ने थरी थरीका रैथाने बाली लोप भएका छन् । उन्नत प्रजातिको विकासे बाली लगाउने प्रचलनसँगै विभिन्न रैथाने बाली लोप भएका हुन् । थारू आलु र सेतो अन्डी धानबाहेक अन्य रैथाने बालीको खेतीपाती अचेल छैन । पाँच दशकअगाडिसम्म किसानले सबैभन्दा बढी खेती गर्ने रैथाने बालीको अब बिउसमेत मासिएको छ ।
थारू समुदायका अनुसार विगतमा सौँठ्यारी, चानाफोर, अञ्जना, गोर्रा, आइरेट, गोग्वा, गोपाल, जया, करङ्गी, सुगापङ्खी, निमोई, रुट्नी, कृष्णभोग, डिरुवा, रैमुनुवा, बर्का मसुली, ढुनमुनिया, अन्डीलगायतका रैथाने धानबालीको खेती गरिन्थ्यो । यी बालीमध्ये सौँठ्यारी, करङ्गीलगायतका रैथाने धान सुक्खा, बलौटे जमिनमा रोपाइँ नगरी हलोले जोतेर सिधै बिउ छर्ने गरेको धनगढी उपमहानगरपालिका–७, पटेलाका ६८ वर्षीय धरमबहादुर चौधरीले स्मरण गरे ।

उनले भने, “कालो फल्ने यो धानको चामल रातो हुने गर्दथ्यो । त्यो बेला हामी रोपाइँ गर्दैनथ्यौँ । खेत जोतेर सिधै बिउ छर्ने गथ्र्यौं ।” रैथाने प्रत्येक बालीको आआफ्नै विशेषता रहेको बताइन्छ । सुक्खामा लगाउने छुट्टै धानबाली र पानी जमिरहने ठाउँमा अग्ला अग्ला हुने छुट्टै प्रजातिका धान खेती गर्ने गरिन्थ्यो । गोग्वा, गोर्रालगायतका धान पानी जम्ने ठाउँमा हुने गरेको पटेलाकै ७५ वर्षीय नन्दलाल चौधरीले बताउनुभयो । उनले भने, “यो धान तालमा पनि हुन्थ्यो । टुप्पो मात्रै देखिने गरी पानीले डुबाए पनि यो धान बँच्थ्यो ।”
चौधरीले कृष्णभोग, निमोई धानको भात धेरै मिठो हुने गरेको पनि बताए । उनले भने, “यो प्रजातिको धान धेरै फल्थ्यो । ढिकीमा कुटेर खाँदा यसको भात धेरै मिठो लाग्थ्यो । चानाफोरको भात भने कडा हुन्थ्यो ।”
स्थानीय चन्द्रादेवी चौधरीका अनुसार अञ्जना धानको खेती धेरैपछिसम्म गरिएको थियो तर डाँठ नरम हुने कारण हावाले गर्दा चाँडै ढल्ने गरेकाले लगाउन छोडेको उनको भनाइ छ । उनले भने, “हामीले नै धेरै पछिसम्म अञ्जनाको खेती गरेका थियौँ । पछि बुहारीहरूले ढलेको धान काट्न झ्याउ मानेकाले यो धान लगाउन छोडिदियौँ ।”
अन्डीबाहेक रैथाने सबै धान अहिले थारू समुदायको घरबाट लोप भइसकेको छ । विगतमा भकारीभरि भण्डारण गरिएका यस्ता धानको अचेल बिउ पनि पाउन मुस्किल छ । पुरानो अन्डी धान पनि मासिएको कृषक केदार चौधरीले बताए । उनले पहिले रातो भात हुने ठुलठुलो दानाको अन्डी धानको खेती हुने गरेको स्मरण गर्दै भने, “अहिले सेतो अन्डी आएको छ । यसको पनि अलि अलि मात्रै खेती हुन्छ ।”
अन्डी थारू समुदायको दुई महत्वपूर्ण पर्व अट्वारी र माघ (माघी) का लागि नभई नहुने रहेकाले यो धानको खेती अलि अलि गर्ने गरिएको छ । अट्वारीमा अन्डी धानको चामलको रोटी अनिवार्य मानिन्छ । अन्डी नभएमा अट्वारी पर्वको व्रत नबस्ने गरेको चौधरीको भनाइ छ । विकासे धान बालीप्रतिको आकर्षणले रैथाने धानबाली मासिएको ज्येष्ठ नागरिक नन्दलालको बुझाइ छ ।
उनी भन्छन्, “पहिले बर्खामा पानी खुब पर्ने गरेका कारण त्यसै अनुसारको रैथाने धानबालीको खेती हुन्थ्यो तर अचेल समयमा पानी पर्दैन । त्यसैले उन्नत जातको विकासे धानबाली लगाउन थालिएको छ ।” धेरै फल्ने भनेर किसानले उन्नत जातको धानबाली अँगालेको र रैथाने बाली छोडेको कृषक केदारको भनाइ छ । थारू समुदायमा प्रचलनमा रहेको अन्डी धान र थारू आलु जोगाउनका लागि कृषि ज्ञान केन्द्रले प्रयास गरिरहेको छ । अन्डी धान र थारू आलुका लागि हरेक वर्ष किसानलाई सहयोग गर्ने गरेको कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी टेकबहादुर विष्टले बताए ।














