
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत आनन्द भट्टको दैनिकी हिजोआज फेरिएको छ । बिहान विद्यालयको पढाइ सकेपछि घरमै समय बिताउने बानी परेका उनी अहिले भने दिउँसो १२ बज्नासाथ अत्तरियातर्फ लाग्छन् । गत असार १० गतेदेखि सुरु भएको निःशुल्क हेयर कटिङ (कपाल काट्ने) तालिममा नियमित सहभागी बनेका भट्ट घाम, पानी वा थकानको पर्वाह नगरी सीप सिक्न पुगिरहेका छन् ।
दैनिक करिब एक घण्टाको अभ्यासले उनको भविष्यप्रतिको आत्मविश्वास बढाएको छ । कम लगानीमा सुरु गरी राम्रो आम्दानी हुने हेयर कटिङ व्यवसाय आफूलाई राम्रो लाग्ने भएकोले विद्यालयले दिएको फाराम भरेको उनले बताए । तर हेयर कटिङ सिक्न एक महिनाको समय पर्याप्त नहुने महसुस आनन्दले गरेका छन् । विद्यालयले तालिमको समय कम्तिमा दुई महिना अझै थप गरिदिए हुन्थ्यो भन्ने उनलाई लागेको छ ।

“हामी कैँचि नै नचलाएको मान्छे एक महिना त हामीलाई कैँचि चलाउने बानी पर्न मात्रै लाग्ला जस्तो भयो, त्यसै तालिमको समय थप गरिदिएर पूर्ण सीप सिकाइदिए विद्यालयप्रति आभारी हुन्थे” भट्टले भने । आनन्द मात्रै होइनन्, सोही विद्यालयमा अध्ययनरत आनन्द बमको दिनचर्या पनि बदलिएको छ ।

कक्षा सकिएपछि साथीहरूसँग समय बिताउने उनी अहिले हेयर कटिङ तालिममा व्यस्त देखिन्छिन् । सुरुमा कपाल काट्ने काम गाह्रो लागे पनि दैनिक अभ्यासले अहिले आत्मविश्वास बढ्दै गएको उनी बताउँछिन् । “पढाइसँगै एउटा सीप पनि सिके भविष्यमा आफैं केही गर्न सकिन्छ भन्ने विश्वास जागेको छ,” उनी भन्छन् ।
यस्तै, कक्षा ११ मा अध्ययनरत जनक साउँद पनि तालिमका सहभागीमध्ये एक हुन् । पहिले खाली समय मोबाइल र साथीभाइसँग बिताउने रमेश अहिले कपाल काट्ने विभिन्न शैली सिक्न उत्साहित छन् । सिकेको सीपले भविष्यमा स्वरोजगार बन्ने बाटो खोल्नेमा साउँद विश्वास छन् । “पढाइसँगै काम पनि सिक्न पाएपछि समयको सही सदुपयोग भएको महसुस भइरहेको छ, अहिले ११ मा पढीरहेको छु, अरु जागीर नसकिए विदेश गएर वा स्वदेशमै यही व्यवसाय गर्छु ।” उनले भने ।
दुर्गालक्ष्मीमै कक्षा ११ मा अध्ययनरत हिमाल डाँगी पनि पढाईसंगै आर्थिक आम्दानी गर्ने उदेश्यले कपाल काट्ने तालिम सिकिरहेको बताउँछन् । नयाँ साथीहरसंग नयाँ काम सिक्न पाउँदा आफू उत्साहित भएको उनको भनाई छ । करिब एक महिनाको अवधीमा फेसियल, मालिस लगायत सामान्यरुपमा हेयर कटिङ सिकिसकेको उनले बताए । सीप सिके रोजगारीको सम्भावना अझ फराकिलो बन्न सक्छ भन्ने तालिमका अर्का प्रशिक्षार्थी मुकेश रावतको बुझाई छ ।
तर तालिमको एक महिनाको अवधी विद्यालयले बढाइदिनुपर्ने उनको माग छ । पूर्ण सीपले मात्रै व्यक्तिलाई व्यवसायीक बनाउन सक्ने भन्दै कम्तिमा दुई महिना तालिमको थप गरिदिन उनी विद्यालयलाई आग्रह गर्छन् । अत्तरियामा ३४ वर्षदेखि फरमान हेयर कटिङ सैलुन सञ्चालन गर्दै आइरहेका देवराज चौधरीले उनीहरुलाई हेयर कटिङ प्रशिक्षण दिइरहेका छन् ।

“पढ्दै कमाउँदै” कार्यक्रम अन्तरगत दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरी सञ्चालन गरिएको एकमहिने निःशुल्क हेयर कटिङ तालिमले विद्यार्थीमा व्यावसायिक सीप विकास गर्ने उद्देश्य लिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरी भट्टराईले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ कैलालीको सहयोगमा हाल २५ जना विद्यार्थीहरुलाई हेयर कटिङ तालिम प्रदान गरिरहेको उनको भनाई छ । विद्यार्थीको अपेक्षा बमोजिम तालिमको समयावधी थप गर्नेबारे आफूहरुले छलफल गरिरहेको उनले बताएका छन् । औपचारिक शिक्षा हासिल गरिरहेका विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानसँग जोड्दै आत्मनिर्भर बन्न प्रेरित गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको विद्यालयका प्रधानाध्यापक वीरसिंह महताले बताए ।
पढ्दै गर्दा केहि आर्थिक आम्दानी पनि विद्यार्थीले गर्न सकोस् भन्ने उदेश्य विद्यालयको रहेको उनको भनाई छ । कक्षा ११ र १२ का सबै विद्यार्थीहरुमाझ सूचना सार्वजनिक गरेको भएपनि विद्यालयका छात्राहरुले हेयर कटिङ तालिममा रुची नदेखाएको विद्यालयले जनाएको छ । “














