
अत्तरिया – गोदावरी नगरपालिकाले ‘मेरो नगर, हाम्रो जिम्मेवारी’ भन्ने मूल नारासहित सञ्चालन गरेको श्रमदान अभियानलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ। नगर प्रमुख वीरेन्द्र भट्टको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी, सरसफाइकर्मी, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता तथा स्थानीय नागरिकहरूको सक्रिय सहभागितामा कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृहत् सरसफाइ अभियान सम्पन्न गरिएको हो।
अभियानअन्तर्गत विश्वविद्यालय परिसरमा रहेका फोहोर, झाडी तथा अव्यवस्थित क्षेत्रहरूको सरसफाइ गरी वातावरणलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाइएको नगरपालिकाले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन २ वटा जेसीबी, २ वटा ट्र्याक्टर, २ वटा टिप्परलगायत आवश्यक उपकरण परिचालन गरिएको थियो।

नगरपालिकाका अनुसार स्वच्छ, सुन्दर र स्वस्थ वातावरण निर्माण कुनै एक निकायको मात्र जिम्मेवारी नभई सम्पूर्ण नागरिकको साझा दायित्व हो। त्यसैले सरसफाइलाई अभियानमा सीमित नराखी दैनिक जीवनको संस्कारका रूपमा अपनाउन सबै नागरिकलाई आग्रह गरिएको छ।
स्वच्छ वातावरणले गुणस्तरीय शिक्षा, अनुसन्धान, सार्वजनिक स्वास्थ्य तथा संस्थागत विकासका लागि अनुकूल आधार तयार गर्ने विश्वास व्यक्त गर्दै नगरपालिकाले भविष्यमा विश्वविद्यालयलाई चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न यस्ता अभियानले सकारात्मक योगदान पुग्ने अपेक्षा गरेको छ।
गोदावरी नगरपालिका वातावरण संरक्षण, सार्वजनिक स्वास्थ्य प्रवर्द्धन, सामाजिक उत्तरदायित्व तथा राष्ट्रिय महत्वका संस्थाको संरक्षण र विकासप्रति सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै अभियान सफल बनाउन योगदान पुर्याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अभियन्ता, स्वयंसेवक तथा स्थानीयवासीप्रति हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ।














