
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-४ मा निर्माणाधिन बास्कोटा – खैराना – बसन्तपुर सडक निर्माणको समयावधी सकिएको छ । २०८३ असार मसान्तमा करिब ७ किलोमिटर (६ हजार ७ सय ७७ मिटर) सडक कालोपत्रे सम्पन्न गर्ने गरी आयोजनाको २०८० चैत्र ४ गते जगदम्बा मालिका स्वामी केदारनाथ जेभीले ठेक्का पाएको थियो ।
साढे ६ करोड (भ्याट बाहेक) रुपैँयाको उक्त योजनाको नगर प्रमुख वीरेन्द्र भट्टले २०८१ वैशाख १२ गते र २०८१ कात्र्तिक २६ गते गरी दुईपटक शिलान्यास गरेका थिए । वैशाखमा नगर प्रमुख भट्टले काम सुरु हुँदा शिलान्यास गरेका थिए भने कार्तिकमा सडकको चौडाइ ३६ मिटर कायम गरी नाला निर्माण गर्ने भन्दै पुनःह शिलान्यास गरेका थिए । २०८३ असार मसान्तसम्म उक्त योजनाको भौतिक प्रगति ७२ प्रतिशत भएको गोदावरी नगरपालिकाका इन्जिनियर जनक खड्काले बताएका छन् ।

उनका अनुसार कल्भर्ट,नाली, सववेस र वेसको काम सम्पन्न भएको छ । अब कालोपत्रेको काम मात्रै बाँकी रहेको छ । जगदम्बा मालिका स्वामी केदारनाथ जेभीका निर्देशक सन्तोष जोशीले सडक कालोपत्र गर्न आवश्यक पर्ने पेट्रोलियम वस्तु बिटुमिन (अलकत्रा) आयातमा अवरोध आउँदा समयमा काम सम्पन्न नभएको बताए । उनले आयोजनाको म्याद ४ महिना थप भएको बताए । सरकारले गत असारमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका ठेक्काको म्याद एक वर्षसम्म थप गर्न सार्वजनिक खरिद नियमावली संशोधन गरेको थियो ।
थप गरिएको समयसिमाभित्र आफूहरुले काम सम्पन्न गर्ने जोशीले बताए । उक्त सडकमा संघीय सरकार र गोदावरी नगरपालिकाको पचास/पचास प्रतिशत लगानी रहेको छ । गोदावरी नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष हेमप्रकाश मल्लले काम समयमै सम्पन्न गर्न आफूले निरन्तररुपमा ठेकेदारलाई ताकेता गरिहेको बताए ।
बास्कोटा,खैराना हुँदै बसन्तपुर जोड्ने उत्त सडक कालोपत्रे भएमा स्थानीयलाई सहज हुने उनको भनाई छ । बास्कोटाकी स्थानीय ललिता चौधरीले सडक छिटो कालोपत्रे हुनुपर्ने बताइन् । केही वर्ष अघिसम्म हिलो र धुलोले हिँड्नै नमिल्ने सडक अहिले केहि सुधार भएको बताउँदै उनले कालोपत्रे भएमा आफूहरुलाई अत्तरिया बजारसम्म आउन जान सहज हुने बताइन् ।















