बिनादर्ताका विद्युतीय स्कुटरले बढाए समस्या

Image
maya metro

कञ्चनपुर – कञ्चनपुरमा पछिल्लो समय विद्युतीय स्कुटर यातायातको सहज साधन बनेको छ । विद्यार्थी, वृद्ध र साना तथा मझौला व्यापारीका लागि सहजताको साधन बन्दै गए पनि बिनादर्ता सञ्चालन गरिँदा भने जोखिम बढेको छ । केही समयअघिदेखि स्थानीयले धमाधाम भारतबाट विद्युतीय स्कुटर खरिद गरेर ल्याउने गरेका थिए ।

भीमदत्त नगरपालिका–२ का ५० वर्षीय वसन्ती विष्टले दुई वर्षपहिले भारतको उत्तराखण्डस्थित वनबासाबाट ५० हजार भारतीय रुपियाँमा विद्युतीय स्कुटर खरिद गरेर ल्याएको बताए । घरभन्दा चार किलोमिटर टाढाको विद्यालय कक्षा ८ मा अध्ययनरत नातिलाई नियमित विद्यालय पु¥याउन ल्याउन स्कुटरले निकै सहज भएको उनको भनाइ छ । विद्युतीय स्कुटरको दर्ता प्रक्रियाको विषयमा भने आफूलाई जानकारी नभएको उनले बताए ।

nisarga

घरबाट करिब पाँच किलोमिटरको दुरीमा रहेको महेन्द्रनगरस्थित रेडियन्ट माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत भीमदत्त नगरपालिका–६ का दिनेश पन्त बुवाले भारतबाट खरिद गरेर ल्याएको विद्युतीय स्कुटर आफैँ चलाएर नियमित विद्यालय जाने गरेको बताउँछन् । उनी भन्छन् , “तर मैले यो चलाउन लाइसेन्स भने बनाएको छैन ।” एक वर्षअघिसम्म पन्त साइकलमा विद्यालय जाने गर्थे ।

लालझाडी गाउँपालिका–२ का ५८ वर्षीय पदम मिश्रलाई पनि किराना पसलका लागि सामान बोक्न विद्युतीय स्कुटरले निकै सहज बनाएको छ । उनी भन्छन् , “यसबाट सामान ओसारपसार गर्दा लागत पनि कम पर्ने गरेको छ ।”

पछिल्लो समय विद्युतीय स्कुटरको प्रयोग बढेपछि जोखिम पनि बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयको जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रनाथ चालकले विद्युतीय स्कुटर प्रयोग गर्दा हेलमेट, लाइसेन्स, कागजपत्रबिनै चलाउने गरेको उल्लेख गर्दै सुरक्षित रूपमा यसको प्रयोग गर्न आग्रह गरे ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरमा हालसम्म २८ विद्युतीय स्कुटर दर्ता भए पनि भारतबाट व्यक्तिगत रूपमा खरिद गरेर ल्याएका स्कुटर भने दर्ता नभएको जनाएको छ । कार्यालयका प्रमुख कुमार परियारले व्यक्तिगत रूपमा खरिद गरेर ल्याएका विद्युतीय स्कुटर दर्ताबिनै निर्बाध प्रयोग भइराखेको बताए । उनले भने, “त्यस्ता स्कुटरको सहज सञ्चालनका विषयमा सरकारले आवश्यक निर्णय लिनुपर्ने देखिएको छ ।”

पछिल्ला तीन वर्षमा १० हजारभन्दा बढी विद्युतीय स्कुटर आयात भएको आकलन छ । चालु आर्थिक वर्षदेखि भने भारतबाट नयाँ खरिद गरेर ल्याउने स्कुटरमा पूर्ण प्रतिबन्ध लगाइएको भन्सार कार्यालयका सूचना अधिकारी चक्रदेव भट्टले बताए । उनका अनुसार पछिल्लो दुई सातामा भारतबाट खरिद गरेर ल्याइएका नौ वटा स्कुटर जफत गरी भन्सारमा राखिएको छ । भन्सारबाट आधिकारिक विक्रेताले प्रक्रिया पु¥याएर मात्रै दर्ता गर्न सक्ने कानुनी व्यवस्था रहेकाले प्रक्रियाबिना खरिद नगर्न उनले आग्रहसमेत गरे ।

भारतबाट नयाँ स्कुटर खरिद गरेर ल्याउने कार्य कानुनविपरीत भएकाले नाकामा कडा निगरानी बढाइएको प्रमुख प्रहरी उपरीक्षक नेत्रमणि गिरीले बताउनुभयो । यसरी व्यक्तिगत रूपमा खरिद गरेर ल्याइएका स्कुटरले राजस्व छली गर्नुका साथै दुर्घटना बिमा क्षतिपूर्तिसमेत नपाउने उनले स्पष्ट पारे ।

खरिद गरेर ल्याइएका पुराना स्कुटरका हकमा विशेष दर्ता प्रक्रिया अगाडि बढाउन यस क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्यले विशेष चासो देखाएका छन् । क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्रसिंह महताले मङ्गलबार प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटघाटका क्रममा दर्ताबिनै चलाइएका स्कुटरको एक पटकका लागि विशेष दर्ता प्रक्रिया अपनाइनुपर्ने आवश्यकता आफूले औँल्याएको बताए ।