प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई बधाई तथा गोदावरीका राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ भने गोदावरीका राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ ।

पिएफए स्पोट्स क्लबले आज कैलालीको गोदावरी-२ स्थित सैनिक आवासीय महाविद्यालय तेघरीमा एक समारोहको आयोजना गर्दै प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी बधाई ज्ञापन तथा गोदावरीका राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गरेको हो ।

nisarga

गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टको प्रमुख आतिथ्यतामा सञ्चालित बधाई तथा सम्मान समारोहमा सैनिक आवासीय महाविद्यालय तेघरीको विशेष सहकार्य रहेको थियो भने गोदावरी क्षेत्रका विभिन्न युवा क्लब तथा खेल गतिविधिमा संलग्न संघ संस्थाहरुको सहकार्य रहेको थियो ।

सुदुरपस्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक खड्का, सदस्यहरु काशीराम बोहरा, लिला सिंह बोहरा, प्रमोद मल्ल, दिपजंग शाही, श्यामसिंह सिनाल, पुर्ण टेर, नवीन सिंह, रुपेन्द्र धामी, निता खत्री , चेतमान बिक्रम शाह, र गौरी हमाललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान गरिएको हो ।

त्यस्तै बधाई तथा सम्मान समारोहमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट छनोट भई राष्ट्रियस्तरमा पदक जितेका गोदावरी क्षेत्रका खेलाडीहरु १०० मिटर दौडमा सुरेश चौधरी, तेक्वान्दोमा अमन चौधरी, उसुमा चेत जोरा र नवीन सार्की तथा महिला फुटबल खेलाडी मिना देउवा सम्मानित भएका हुन् ।

कार्यक्रममा बोल्दै खेलकुद परिषद्का सदस्य सचिव खड्काले खेल क्षेत्रलाई तीनै तहका सरकारले वेवास्ता गर्दै आएको बताए । उनले खेलाडीहरुलाई प्रोतसाहन गर्न लगानी बढाउन आवश्यक रहेको बताए ।

प्रमुख अतिथि रहेका गोदावरीका नगर प्रमुख भट्टले खेलमा आवश्यक पर्ने बजेट विनियोजन गर्न नसकिएको स्वीकार गर्दै सम्बन्धित व्यक्ति तथा संस्थाहरुले पनि आवश्यक माग समयमै सम्बन्धित ठाउँमा पेश गर्नुपर्ने बताए ।

उनले पछिल्लो सामाजिक सञ्जालमा विरोध गर्ने तर सम्बन्धित ठाउँमा नजाने प्रवृति देखिएको बताउँदै यसले समाजलाई सहि दिसातिर नलैजाने बताए ।

आफू प्रदेश नगरपालिका संघको संयोजक पनि भएको हुँदा खेलाडीहरुका मागलाई सकरात्मक रुपमा लिएको बताउँदै आफ्नो सक्ने पहलका लागि प्रतिवद्धता व्यक्त गरे ।

आयोजक पिएफए स्पोट्स क्लबका सल्लाहकार एवम् गोदावरी नगर शिक्षा समितिका संयोजक डम्मर बहादुर पालको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको सञ्चालन अत्तरिया तेक्वान्दो डोजांगका मुख्य प्रशिक्षक इन्द्र सिंहले गरेका थिए ।

कार्यक्रममा सैनिक महाविद्यालयका प्रमुख व्यवस्थापक प्रमुख सेनानी खिल बहादुर राना, प्रिन्सिपल सिद्धेश्वर पन्त (प्रकाश), तेक्वान्दो, कराते, उसुका खेलाडीहरु, विभिन्न युवा क्लबका खेलाडीहरु, संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।