खेलकुद क्षेत्रमा लगानी बढाउन सदस्य सचिव खड्काको आग्रह

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव लोक खड्काले खेलकुद क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारीलाई बधाई तथा गोदावरीका राष्ट्रिय पदक विजेता खेलाडीलाई सम्मान गर्न कैलालीको अत्तरियामा पीएफए स्पोट्स क्लबद्धारा आयोजित कार्यक्रममा बोल्दै खड्काले तीनै तहका सरकारको प्राथमिकतामा खेलकुद नपरेको गुनासो गरेका हुन् ।

nisarga

खेलकुदलाई मनोरञ्जनसंगै युवाको क्षमता विकास, अनुशासन र राष्ट्रको पहिचानसँग जोडेर हेर्नुपर्ने भन्दै उनले खेलकुद पूर्वाधार, खेलाडीको प्रशिक्षण तथा प्रतियोगिताका लागि पर्याप्त बजेट आवश्यक रहेको बताए ।

पछिल्लो समय सुदूरपश्चिम खेलकुदका क्षेत्रमा निकै अगाडि बढेको भएपनि बजेटका हिसाबले पछाडी रहेको उनले बताए । समग्र बजेटको केहि प्रतिशतका हिसाबले खेलकुदमा बजेट छुट्याउनु पर्ने खड्काले बताए ।

ग्रासरुटका बालबालिकालाई खेलकुदमा समावेश गराउँदा शिक्षा र स्वास्थ्य दुवैमा सहज हुने बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको तर पारित नभएको बजेटमा असन्तुष्टी जनाउँदै उनले अब प्रदेशमा गठनका क्रममा रहेको नयाँ सरकारलाई खेलकुदलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्न उनले आग्रह गरे ।

आफूहरुले थुप्रै प्रयास गर्दा पनि प्रदेश सरकारले माग सुनुवाई नगरेको उनले गुनासो गरे । प्रदेश सरकारसंगै स्थानीय सरकारले पनि खेलकुदमा पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने सदस्य सचिव खड्काले बताए ।

सुदूरपश्चिममा हुने अधिकांश प्रदेशस्तरिय खेलकुद प्रतियोगिताहरुलाई तराईका जिल्लाहरु कैलाली र कञ्चनपुरमा मात्रै सिमित नराखी पहाडी जिल्लाहरुमा पनि आयोजना गर्नुपर्नेमा उनले जोड दिए ।