
धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुखको कार्यालयले नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेको छ। प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम दिएको लिखित राजीनामा स्वीकृत गरिएको हो।
मुख्यमन्त्री शाहले २०८३ साल साउन २५ गते साँझ ६ः१० बजे प्रदेश प्रमुखसमक्ष राजीनामा दिएका थिए। उक्त राजीनामा २०८३ साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। राजीनामा स्वीकृत भएपछि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री पदमा नियुक्त गर्ने प्रयोजनका लागि दाबी पेस गर्न आह्वान गरिएको छ।
प्रदेश प्रमुखको कार्यालयका अनुसार मुख्यमन्त्री पदमा दाबी पेस गर्न इच्छुक प्रदेशसभा सदस्यले २०८३ साउन २९ गते शुक्रबार बिहान ११ बजेभित्र प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्नुपर्नेछ। यससँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। अब प्रदेशसभामा बहुमत जुटाउन सक्ने दल वा दलहरूको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस हुनेछ।














