
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–४ स्थित बुढीतोलामा आयोजित ‘बुढीतोला पर्यटन महोत्सव’ २०८३ मा सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले १ करोड रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाए ।
वैशाख १७ देखि २३ गतेसम्म सञ्चालन भएको महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि रहेका सचिव कोइरालालाई बुढीतोला पर्यटन प्रर्वद्धन समितिले ५ बुँदे ज्ञापनपत्र पनि बुझायो ।

कोइरालाले बुढीतोलाको पर्यटन विकासका लागि १ करोड रुपैयाँ बजेट उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । सचिवको प्रतिवद्धतापछि बुढीतोला पर्यटन प्रवृद्धन समितिले बुढीतोलामा पूर्वाधार विकास र पर्यटन प्रवद्र्धनका कार्यक्रम अघि बढ्ने अपेक्षा गरेको थियो ।
तर आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजित बजेटमा उक्त योजना नपरेपछि समिति निरास बनेको छ । यद्यपी आर्थिक मामिलामन्त्री विक्रम सिंह धामीले गत असार २ गते प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको उक्त बजेट पारित भने हुन सकेन ।
आफैले ल्याएको बजेट सरकारले पारित गर्न नसकेपछि साउन १ गतेदेदेखि प्रदेश सरकारसँग खर्च गर्ने कानुनी आधार समाप्त भएको छ । अब प्रदेश सरकार परिवर्तन हुने निश्चित भएको छ भने बजेट पनि पुर्नलेखन हुने भएको छ । बुढीतोला पर्यटन प्रवृद्धन समितिका संयोजक हरिदत्त भट्राईले मन्त्रालयको सचिवले सार्वजनिक कार्यक्रममा प्रतिवद्धता गरेको योजना पनि बजेटमा समावेश नहुनु दुखद भएको बताए ।
सम्बन्धित समाचार: बुढीतोला क्षेत्रको पर्यटन प्रर्वद्धनका लागि १ करोड बजेट विनियोजन गर्ने सचिव कोइरालाको घोषणा (भिडियो)
उनले संयोगवस अब बजेट पुर्नलेखन हुने भएकोले बुढीतोलाको पर्यटन विकासका लागि बजेट माग गरे । पर्यटकीय सम्भावना बोकेका क्षेत्रको पूर्वाधार विकास, प्रचार–प्रसार र प्रवद्र्धनमा राज्यले लगानी गर्नुपर्ने उनले बताए । समितिका सदस्य रविन्द्र रोका मगरले कर्मचारीले समेत झुटो आश्वासन दिनु लज्जास्पद भएको बताए ।
प्राकृतिक र धार्मिक रुपले भरिपुर्ण बुढीतोलालाई पर्यटकिय गन्तव्यकारुपमा विकास गर्न सरकारले आवश्यक पहल चाल्नुपर्ने उनको भनाई छ । प्रदेश सचिव कोइरालाले भने आफूले सम्बन्धित सबै मन्त्रालयहरुमा माग राख्दा पनि सुनुवाइ नभएको बताए । मुख्यमन्त्रीको कार्यालय, आर्थिक मामिला मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयमा आफुले माग पठाएको उनको भनाई छ।
सम्बन्धित समाचार: बुढीतोला क्षेत्र पर्यटन प्रवद्धन समितिले पर्यटन मन्त्रालयलाई बुझायो ५ बुँदे ज्ञापनपत्र
“बुढीतोलालाई उचित पर्यटकिय गन्तव्यकारुपमा विकास गर्न सकिन्छ भनेर नै मैले बोलेको हो, त्यहि अनुसार तीनवटा मन्त्रालयहरुमा माग राखेको पनि हो तर सुनुवाइ नै भएन् । उनले भने ।” अब बन्ने प्रदेश सरकारले बजेट पुर्नलेखन गर्ने भएकोले समिति स्वयमले समेत दवाव दिनुपर्ने उनको भनाई छ ।















