
अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरणको तयारी तिव्र पारिएको छ । पहिलो चरणमा भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया तिव्र पारिएको हो ।
गोदावरी नगरपालिकामा करिब तीन सय भूमिहीन सुकुम्बासी र भूमिहीन दलितलाई लालपुर्जा वितरण गर्ने प्रक्रिया अघि बढाइएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि सम्बन्धी समस्या समाधान समितिका अध्यक्ष हिरालाल रेग्मीले बताएका छन् ।

गोदावरी नगरपालिकाले सिफारिस गरेर पठाएका करिब तीन सय फारामहरु भेरिफाइ गर्ने काम भइरहेको उनले बताएका छन् । पहिलो चरणमा गोदावरीका करिब तीन सय परिवारलाई दशैँ अघि नै लालपुर्जा वितरण गर्ने आफूहरुको लक्ष्य रहेको रेग्मीले बताएका छन् । उनका अनुसार गोदावरी नगरपालिकामा भूमि नापजाँच सम्बन्धि काम अन्य पालिकाको तुलनामा प्रभावकारी रुपमा अघि बढेको छ।
“गोदावरीबाट सिफारिस भएर आएका फारामहरु हामीले भेरिफाइ गरिरहेका छौँ, रेग्मीले सुदूर टाईम्ससंग भने, लालपुर्जा वितरणमा ८० प्रतिशत काम स्थानीय तहकै हुन्छ । जुन स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी सक्रिय भएर लाग्नुभएको छ त्यहाँ छिटो काम भएको छ । गोदावरीका नगर प्रमुख सक्रिय भएर लाग्नु भएको छ । गोदावरीमा दशैँ भन्दा अगाडि करिब तीन सय परिवारलाई लालपुर्जा दिन्छौँ ।”
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले आफूहरुले जतिसक्दो छिटो लालपुर्जा वितरणका लागि प्रमुख जिल्ला अधिकारी नेतृत्वको समितिलाई आग्रह गरिरहेको बताए ।
उनले आफूहरुको चुनावी बाचाअनुसार काम गर्न खोजे पनि सरकार परिवर्तनका कारण सम्भव नभएको बताए । दशैँ, तिहारसम्म कम्तिमा पनि पन्ध्र सयदेखि दुईहजार परिवारलाई लालपुर्जा वितरणका लागि आफूले प्रयास गरिहेको नगर प्रमुख भट्टले बताए ।
गोदावरी नगरपालिका भूमि सेवा शाखा प्रमुख रघुनाथ जोशीका अनुसार नापजाँचको काम करिब सम्पन्न भएको छ । छुटपिट भएका ठाउँहरुमा नापी भइरहेको उनले बताए ।
दशैँ भन्दा अगाडि नै पहिलो चरणमा लालपुर्जा वितरण गर्ने गरी आफूहरुले काम गरिरहेको जोशीले बताएका छन् । गोदावरीमा १७ हजार ८५४ जना अव्यवस्थीत बसोबासी, १ हजार ५०३ जनाले भुमिहिन सुकुम्बासी र १ हजार ५१९ जना भुमिहिन दलितले लालपुर्जाका लागि निवेदन दिएका थिए ।
हिजोआज फाइल तयार गरेर विवरण मालपोतमा पठाउने कार्य भइरहेको भूमि सेवा शाखाका सर्वेक्षक विमल चौधरीले बताएका छन् ।
लालपुर्जाका लागि प्राप्त निवेदेनमध्य केहि जेनजी आन्दोलनका क्रममा नगरपालिकाको कार्यालयमा भएको आगजनीमा नष्ट भएका कारण फेरि एकपटक फाराम खोल्ने तयारी नगरपालिकाले गरेको छ ।
प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोगको जिल्ला समितिले गत असारदेखि औपचारिक रूपमा काम अघि बढाएको थियो ।
करिब दुई महिनाको अवधिमा कैलालीका १३ वटै स्थानीय तहमा वडा तहबाटै भूमिहीन तथा अव्यवस्थित बसोबासीसम्बन्धी तथ्यांक प्रविष्टि, जग्गा खोजी, नापजाँचलगायतका प्रक्रिया सञ्चालन भइरहेको प्रमुख जिल्ला अधिकारी रेग्मीले बताएका छन् ।












