
अत्तरिया – कैलालीको गोदावरी–२ स्थित अत्तरिया बसपार्कमा बसले किच्दा घटनास्थलमै मृत्यु भएकी सिन्की बोहरा र महाकाली यातायात प्रालिबिच आज भएको वार्ता निष्कर्षविहिन भएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीमा दुई पक्षबिच आज दिउँसो भएको वार्ता बिना निष्कर्ष टुंगिएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) हिरा सिंह महराले बताएका छन् ।

मृतकका परिवारले मृतकले लगाएका ६ तोला सुनका गहना फेला नपरेको बताएपछि वार्ता अगाडि बढ्न नसकेको हो । भोलि बिहान १० बजे पुनः छलफलका लागि बोलाइएको प्रहरीले जनाएको छ ।
आइतबार बेलुकी महेन्द्रनगरबाट दार्चुला जाँदै गरेको महाकाली यातायातको सुप प्र ०२–००१ख९५६ नम्बरको बसले पानी बेचिरहेकी बोहरालाई आइतबार बेलुकी किचेको थियो ।
बस र चालक दार्चुलाको मालिकार्जुन–२ बस्ने २४ वर्षीय रोहितसिंह धामीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिइसकेको छ ।
दुर्घटनापछि आक्रोशित स्थानीयले हिजो इलाका प्रहरी कार्यालय मालाखेतीमा ढुंगामुडा गर्दै टायर बालेर प्रर्दशन गरेका थिए ।
मृतकको शव सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ । मृतकका आफन्तले शव बुझेका छैनन् ।















