भोटेकोशी बाढीले टीकापुरमा चिन्ता, सयौँ सम्पर्कबिहीन

Image
maya metro

टीकापुर – बुधबार विहान भोटेकोशीमा आएको बाढीले गरेको धनजनको क्षतिको खबरले टीकापुरको गाउँ—गाउँमा चिन्ता छाएको छ । टीकापुरबाट त्यहाँका जलविद्युत आयोजनामा काम गर्न गएका युवाहरु सम्पर्कविहीन भएपछि चिन्ता बढेको हो ।

उनीहरुमध्ये धेरैजना जलविद्युत आयोजनाको सुरुङ मार्गमा काम गर्न गएका परिवारजनले बताएका छन् । टीकापुर नगरपालिका–१ समितिपुरबाट मात्रै त्यहाँ काम गर्न गएका दश जना युवा सम्पर्कविहीन छन् ।

nisarga

सम्पर्कविहीन हुनेमा वीरबहादुर चौधरी, शनिसराम चौधरी, जुगराम चौधरी, शिवनारायण चौधरी, बादल चौधरी, दोर्जे भनिने भुवन चौधरी, खुसीराम चौधरी, मनिराम चौधरी, अन्तराम चौधरी र मानबहादुर चौधरी रहेका छन् ।

‘डेढ महिनाअघि काममा जानुभएको हो हरेक दिन दिउँसो १२ बजेतिर कुराकानी हुन्थ्यो, आज कुरा हुन सकेको छैन’ वीरबहादुरकी श्रीमती सुगन्ती चौधरीले भने, ‘बाढी आएको सुनेपछि फोन गर्न कोसिस गरें अहिले साँझसम्म सम्पर्क हुन सकेको छैन ।’ यहाँका युवाहरूलाई समितिपुरकै तुलाराम चौधरीले कामका लागि त्यहाँ लिनुभएको छ ।

युवा लैजाने ठेकेदार तुलाराम र भान्से दिलु चौधरी कोठामै रहेका बेला बाढी आएपछि भागेको र सुरुङमा काम गर्न पसेका युवाहरु सम्पर्कविहीन भएका हुन् । तुलारामलाई विहान साढे ११ बजेतिर फोन लागेको र आफू दिलु डाँडोतिर भाग्दै गरेको र सुरुङमा गएकाहरुको पत्तो नभएको जानकारी दिएको तुलारामकी छोरी चौधरीले बताए ।

वर्षाका अनुसार तुलारामसँग मात्रै कामका लागि यहाँका ४० जनाभन्दा बढी युवाहरू त्यस ठाउँमा पुगेका छन् । समितिपुरका बरघर तथा सम्पर्कविहीन मानबहादुर चौधरीका भाइ अखिल थारुले विभिन्न बस्तीबाट धेरै मानिसहरू गएका तर नाम यकिन हुन नसकेको बताए ।

यस्तै टीकापुर नगरपालिका–१ एकतापुरबाट पनि नौ जना युवाहरू कामका लागि त्यहाँ गएका छन् । भदौ २ गते काम गर्न रसुवा जानुभएको त्यहाँ गएका युवा आशिष चौधरीकी श्रीमती दिलकुमारी चौधरीले भने, ‘बुधबार बिहान ७ बजे अन्तिम पटक कुरा भएको हो त्यसपछि सम्पर्क भएको छैन ।’

दिलकुमारी जस्तै राजकुमार थारुकी श्रीमती शान्ति चौधरी, विपतराम चौधरीकी श्रीमती फुलमती चौधरी पनि कामका लागि लैजाने समितिपुरका तुलाराम चौधरीको घरमा पुगेका छन् । शान्ति चौधरीका अनुसार उनका श्रीमान राजकुमारसँगै राजकपुर चौधरी, कमला चौधरी लगायत नौ जना युवा कामका लागि रसुवा गएका छन् ।

बाढीपछि उद्धार गरिएका मानिस कोही अस्पतालमा, कोही हेलिकप्टरबाट उद्धार गरिएको, उचो ठाउँमा सारेको खबर सुनिए पनि उनीहरुको नाम नआउँदा छटपटी लागेको श्रीराम चौधरीले बताए । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले काममा गएकाहरुका परिवारसँग खोधिखोजी र समन्वय भइरहेको बताए ।