
काठमाडौं – चिनियाँ राज्य–नियन्त्रित टेलिभिजनका अनुसार तिब्बतको केरुङ क्षेत्रमा गएको बाढी र पहिरोमा परी बेपत्ता भएका ५४६ जनामध्ये २६१ जना २३ विभिन्न देशका विदेशी नागरिक रहेका छन् ।
चिनियाँ विदेश मन्त्रालय, जनसुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापन निकायहरूको संयुक्त छानबिनपछि यो तथ्यांक सार्वजनिक गरिएको हो ।

चीनले सम्बन्धित देशका दूतावास तथा कूटनीतिक नियोगहरूलाई यसबारे आधिकारिक जानकारी गराइसकेको जनाएको छ ।
चीन सरकारले सार्वजनिक गरेको बेपत्ता विदेशी नागरिकहरूको देशगत विवरणमा नेपालका १०४ जना, भारतका ४९ जना, लात्भियाका ३३ जना, अमेरिकाका १८ जना, युके (ब्रिटेन)का १५ जना, अस्ट्रेलियाका ६ जना, क्यानडाका ६ जना, दक्षिण अफ्रिकाका चारजना, मलेसिया, जर्मनी, रुसका ३–३ जना, आयरल्यान्ड, एस्टोनिया, फ्रान्स, नेदरल्यान्ड्स, न्युजिल्यान्डः २–२ जना, फिनल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन, हङ्गेरीका १–१ जना रहेको बताइएको छ । चीन सरकारको आधिकारिक तथ्यांक अनुसार, अहिलेसम्म मृतकहरूको संख्या १६ पुगेको छ ।
सञ्चार सम्पर्क विच्छेद र हिमाली भूभागमा सडक ध्वस्त भएका कारण खोज तथा उद्धारमा कठिनाइ भइरहेको बताइएको छ । चिनियाँ अधिकारीहरूले ड्रोन प्रविधि र उद्धार टोलीमार्फत रातदिन खोजी कार्य जारी राखेको बताइएको छ ।















