रास्वपाको क्यान्डिडेट क्लबबारे कार्यकर्ताका प्रश्नै प्रश्न, उम्मेदवार छनोट प्रक्रिया पारदर्शी र वैज्ञानिक बनाउन माग

Image
maya metro

अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदै छौँ अभियान’ अन्तर्गत गोदावरी नगर समितिले अत्तरियामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । डडेल्धुराबाट निर्वाचित सांसद डा. तारादत्त जोशी, रुपन्देहीबाट निर्वाचित सांसद श्रद्धा कुँवर र अछामबाट निर्वाचित सांसद रत्ना कुमारी थापाको उपस्थितिमा आज कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब’का विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा सहभागीहरूले क्यान्डिडेट क्लबको प्रक्रिया कसरी सञ्चालन हुन्छ, उम्मेदवार छनोट कति वैज्ञानिक र पारदर्शी हुन्छ तथा स्थानीय तहदेखि क्षेत्रीय कमिटीले गरेको सिफारिसको भूमिका के हुन्छ भन्ने विषयमा प्रश्न गरेका छन् । विशेषगरी क्यान्डिडेट क्लबमा प्राप्त हुने मत र समाजमा स्थापित तथा सामाजिक रूपमा परिचित व्यक्तिको प्रभावबीच कसरी समन्वय गरिन्छ भन्ने विषयमा सहभागीहरूले प्रश्न उठाएका हुन् ।

nisarga

सहभागीहरूले क्यान्डिडेट क्लबमा बढी मत प्राप्त गर्ने व्यक्तिले मात्रै उम्मेदवार बन्ने अवस्था भएमा समाजमा लामो समयदेखि काम गर्दै आएका तर क्लबमा पर्याप्त मत नपाएका व्यक्तिहरू उम्मेदवार बन्नबाट वञ्चित हुन सक्ने आशंका व्यक्त गरेका छन् । गोदावरी–९ का चक्र बहादुर चन्दले आफूहरू सामाजिक काममा सक्रिय रहे पनि क्यान्डिडेट क्लब पास गर्न नेताहरूबीचको पहिचानले समेत प्रभाव पार्न सक्ने हुँदा यो प्रक्रियाबारे बिचार गरिनुपर्ने बताए ।

गाउँ–समाजमा आफूहरूको राम्रो पकड र समर्थन भए पनि क्लबमा नचिनिएका कारण छनोट प्रक्रियाबाटै बाहिरिनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ थियो । त्यस्तै अर्की सहभागी जेनिसा खड्काले पार्टीमा नयाँ–पुरानो छुट्याउने प्रवृत्ति कहिलेसम्म रहन्छ भन्दै प्रश्न गरेकी थिइन् । उनले महिलालाई उपमा मात्रै सिमित गर्ने प्रवृतिको पनि अन्त्य हुनुपर्ने बताइन् । त्यस्तै सहभागी पुनम श्रीपाइलीले उम्मेदवार छनोट गर्दा समावेशीतालाई पनि केन्द्रमा राख्नुपर्ने बताएकी छिन् ।

गोदावरी नगरपालिका–१ का पार्टी सचिव तिलकराज भण्डारीले नगर समितिले एक जना व्यक्तिको नाम उम्मेदवारमा सिफारिस गरेर पठाएको अवस्थामा क्यान्डिडेट क्लबबाट अर्कै व्यक्तिले बढी मत पाएमा अन्तिम निर्णय कसरी हुने भन्ने प्रश्न गरे । कमिटीको सिफारिस र क्यान्डिडेट क्लबको मतबीचको सम्बन्ध स्पष्ट हुनुपर्ने उनको भनाइ थियो । गोदावरी १२ का जय बहादुर विकले क्यान्डिडेट क्लबमा भोट पाउने व्यक्तिलाई मात्रै प्राथमिकता दिँदा समाजमा वास्तविक रूपमा काम गरेका व्यक्तिभन्दा सामाजिक सञ्जालमा भाइरल भएका अनुहारले अवसर पाउने सम्भावना बढ्न सक्ने बताए ।

‘सामाजिक सञ्जालमा को भाइरल छ, कस्को कति फलोअर्स छ भनेर हेर्नु भन्दा पनि उस्को विज्ञता के हो? उस्ले पार्टी भित्र र बाहिर उस्ले कसरी काम गर्न सक्छ भन्नेकुरा हेर्नुहोला। उनले भने, अहिलेको तरिकाले जाँदा हाम्रो पार्टी पनि धेरै दिन टिक्दैन भन्ने सुझाव दिन चाहन्छु ।’
सहभागीहरूले क्यान्डिडेट छनोट प्रक्रिया वैज्ञानिक, पारदर्शी र समाजको वास्तविक प्रतिनिधित्व हुने खालको बनाउन पार्टी नेतृत्वसँग आग्रह गरेका छन् ।

क्यान्डिडेट क्लबमा प्राप्त मतसँगै उम्मेदवारको सामाजिक योगदान, जनसम्बन्ध, स्थानीय स्वीकार्यता र पार्टीप्रतिको योगदानलाई समेत मूल्यांकनको आधार बनाउनुपर्ने उनीहरूको माग छ । कार्यकर्ताका प्रश्नको जवाफ दिँदै सांसद जोशीले चुनावका लागि उम्मेदवार छनोट प्रक्रिया विधि र पद्धतिमा आधारित हुने बताए । ‘उम्मेदवार छनोट प्रक्रिया विधि र पद्धतिमा आधारित हुन्छ, यहाँहरुले शंका गर्ने कुनै ठाउँ हुँदैन, उनले भने, निष्पक्ष हुन्छ भन्नेमा यहाँहरु विश्वस्त हुनुहोला ।’