
बाजुरा – लगातारको वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा बाजुराको जनजीवन प्रभावित भएको छ। पहिरोका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध हुनुका साथै ३२ वटा विद्युत् पोल ढलेपछि जिल्लाभर विद्युत् सेवा समेत अवरुद्ध भएको छ।
शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका–९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो। बडीमालिका–८ को राप्का र वडा नं। ६ को जडाङ्गालगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सडक अवरुद्ध भएपछि सडक खुलाउन हिजो बिहानैदेखि दुईवटा डोजर प्रयोग गरिएको थियो। बडीमालिका–६ को नुनेपानीसम्म सडक खुलेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भट्टले जानकारी दिए। उनका अनुसार आज साँझसम्म सडक पूर्ण रूपमा सञ्चालनमा आउन सक्ने सम्भावना छ।
लगातार वर्षा भइरहेकाले सडकका अन्य जोखिमयुक्त स्थानमा समेत पहिरो खस्न सक्ने सम्भावना रहेको भन्दै प्रहरीले यात्रु तथा सवारी चालकलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
जिल्लाभर विद्युत् अवरुद्ध
अविरल वर्षासँगै आएको पहिरोले ३२ वटा विद्युत् पोल ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा समेत अवरुद्ध भएको छ। शनिबार रातिदेखि जिल्लाभर विद्युत् सेवा बन्द भएको हो।
बडीमालिका नगरपालिका–८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरो खस्दा विद्युत् पोल तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ।
नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका सुपरभाइजर सागर सिंहका अनुसार वैकल्पिक व्यवस्थामार्फत आज रातिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ। अछामबाट आएको दुईवटा प्रसारण लाइनमध्ये एउटामा बढी र अर्कोमा कम क्षति पुगेको उनले बताए।
कम क्षति भएको प्रसारण लाइन मर्मत गरी आज रातिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको सिंहले बताए। विद्युत् सेवा अवरुद्ध भएपछि समस्या पहिचान तथा मर्मतका लागि प्राविधिक टोली दिनभर खटिएको थियो। तर, लगातार वर्षा भइरहेकाले मर्मतको काम प्रभावित भएको छ।
बाजुरामा अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। तत्कालका लागि ११ केभी लाइनमार्फत विद्युत् सेवा सञ्चालन गर्ने तयारी भइरहेको सिंहले बताए।
लगातारको वर्षाका कारण साँफे–मार्तडी सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दा प्रसारण लाइन तथा विद्युत् संरचनामा क्षति पुगेको हो।
विद्युत् सेवा अवरुद्ध भएपछि सदरमुकाम मार्तडीसहित जिल्लाका विभिन्न क्षेत्रका घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन्। विद्युत्बाट सञ्चालन हुने सरकारी कार्यालय, व्यवसाय, सञ्चारमाध्यम तथा दैनिक कामकाजसमेत प्रभावित भएका छन्।















