कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ, एक फरार

Image
maya metro

कैलाली – कैलालीमा सालको काठ र दुई मोटरसाइकलसहित एक जना पक्राउ परेका छन् भने एक जना फरार भएका छन्।

कैलालीको लम्कीचुहा नगरपालिका–३, बल्चौरस्थित मुक्त कमैया सामुदायिक वनबाट अवैध रूपमा कटान गरी लैजाँदै गरिएको १४.३५ क्यूफिट सालको काठसहित एक जना पक्राउ परेका हुन्। शनिबार राति वन क्षेत्रबाट चोरी गरी ल्याइएका ७.७९ र ६.५६ क्यूफिटका दुई गोलिया सालको काठसहित जानकी गाउँपालिका–८, भगरैयाका सर्वन चौधरी पक्राउ परेका हुन्।

nisarga

काठ ओसारपसारमा प्रयोग गरिएका सुदूरपश्चिम प्रदेश ०१–००८ प ५६२३ र से.७ प ६४०९ नम्बरका दुई मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ। मुक्त कमैया सामुदायिक वन उपभोक्ता समूह, स्थानीय युवा क्लब र सब–डिभिजन वन कार्यालय लम्कीको संयुक्त टोलीले राति गस्ती गर्ने क्रममा महेन्द्र राजमार्गको बल्चौर चोक नजिकै २ः५५ बजे काठ लोड गरिएका मोटरसाइकलसहित चौधरीलाई नियन्त्रणमा लिएको हो।

घटनामा संलग्न अर्का एक जना भने फरार रहेका छन्। बरामद काठ र मोटरसाइकल सब–डिभिजन वन कार्यालय लम्कीमा बुझाइएको छ। पक्राउ परेका चौधरीमाथि आवश्यक अनुसन्धान भइरहेको र घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत अनुसन्धान जारी रहेको सब–डिभिजन वन कार्यालय लम्कीले जनाएको छ।