
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरियामा रहेको गोदावरी ज्येष्ठ नागरिक समाजले ३६ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाएको छ ।
दिवसका अवसरमा अत्तरिया बजारमा बाजागाजासहित ¥याली निकालिएको थियो । ¥यालीपछि गोदावरी ज्येष्ठ नागरिक समाजको कार्यालयमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।

गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गोदावरी ज्येष्ठ नागरिक समाजका अध्यक्ष भोजराज भट्टले सभाअध्यक्षता गरेका थिए ।
कार्यक्रममा बोल्दै उपप्रमुख रोकायाले ज्येष्ठ नागरिकहरू अनुभवका भण्डार भएकाले उनीहरूबाट पछिल्लो पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताइन् ।
ज्येष्ठ नागरिकको जीवनभरको अनुभव, ज्ञान र सिकाइ देश निर्माणका लागि महत्वपूर्ण सम्पत्ति बन्न सक्ने उनको भनाइ थियो । त्यस्तै ज्येष्ठ नागरिक समाजका अध्यक्ष भट्टले ज्येष्ठ नागरिकले सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने बताए।
पछिल्लो पुस्तामा ज्येष्ठ नागरिकप्रतिको सम्मान र आत्मीयता घट्दै गएको गुनासो गर्दै उनले उनीहरूको सम्मान र अधिकार सुनिश्चित गर्न राज्य तथा समाज दुवै गम्भीर हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गोदावरी नगरपालिका महिला तथा बालबालिका शाखाका प्रतिनिधि, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा गोदावरी नगरपालिकाका विभिन्न वडाका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा ज्येष्ठ नागरिकको सम्मान, अधिकार र सामाजिक सुरक्षाका विषयमा चर्चा गरिएको थियो । दिवसका अवसरमा सहभागी ज्येष्ठ नागरिकहरूले देउडा समेत खेलेका थिए।
















