गोदावरी नगरपालिकाद्वारा अत्तरिया बजारमा तिहार लक्षित अनुगमन

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले तिहारलाई लक्षित गर्दै अत्तरिया बजारमा बजार अनुगमन गरेको छ। नगर उप प्रमुख एवम अनुगमन समितिकी संयोजक शारदा देवी रोकायाको नेतृत्वमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी, नगर प्रहरी र नेपाल प्रहरीको समन्वयमा बजार अनुगमन गरिएको हो।

अनुगमनका क्रममा विशेषगरी मिठाई पसलहरूमा खाद्य सामग्रीको गुणस्तर, लेबलिङ तथा बिक्रीका लागि राखिएका सामग्रीको अवस्थाबारे निरीक्षण गरिएको थियो।

nisarga

सो क्रममा केही मिठाईमा आवश्यक लेबल प्रयोग नगरिएको तथा केही पसलमा प्लास्टिकका माला बिक्रीका लागि राखिएको पाइएको नगरपालिकाका आर्थिक विकास अधिकृत समुद्र धामीले जानकारी दिए।

उनका अनुसार मापदण्डविपरीतका सामग्रीसमेत बरामद गरिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका नायब सुब्बा तोयनाथ ओझाले व्यवसायीहरूलाई खाद्य सामग्रीमा अनिवार्य रूपमा लेबल राखेर मात्रै बिक्री गर्न आग्रह गरिएको बताए।

उपभोक्ताले पनि सामग्री खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति र गुणस्तरबारे सचेत हुनुपर्ने उनको भनाइ छ। अनुगमनका क्रममा व्यवसायीहरूले सडक तथा बजार क्षेत्रमा अनधिकृत रूपमा सञ्चालन भइरहेका अस्थायी व्यापारप्रति असन्तुष्टि व्यक्त गरे ।

अत्तरियाकी व्यवसायी भागरथी विस्टले बिना अनुमति तथा दर्ताबिनै ठेलामा सामान बिक्री गर्ने व्यवसायीका कारण आफूहरू समस्यामा परेको बताइन् ।

आफूहरूले पसल सञ्चालनका लागि भाडा तिर्ने र व्यवसाय दर्ता गरी कारोबार गर्ने गरे पनि बिना दर्ताका व्यवसायीहरुले सडक ओगटेर बाटो नै बन्द हुने व्यापार गर्ने गरेकोले नगरपालिका तथा उद्योग वाणिज्य संघले व्यवस्थित गर्नुपर्ने उनले बताइन् ।

नगर उपप्रमुख शारदा देवी रोकायाले चाडपर्वका समयमा उपभोक्ताको हितलाई ध्यानमा राखेर बजार अनुगमन गरिएको बताइन् । सामग्री खरिद गर्दा गुणस्तर र म्यादबारे सचेत रहन सबै उपभोक्तालाई उनले आग्रह गरिन्।

उनले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सामग्री खरिद गर्न तथा व्यवसायीलाई पनि मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न अनुरोध गरेकी छन्।