गम्भीर तथा जघन्य मुद्दा फछ्र्यौटमा इलाका प्रहरी कार्यालय मालाखेती उत्कृष्ट

Image
maya metro

अत्तरिया – गम्भीर तथा जघन्य प्रकृतिका मुद्दा फछ्र्यौटमा कैलालीको अत्तरियामा रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले सुदूरपश्चिम प्रदेशमै तुलनात्मक रूपमा उत्कृष्ट कार्यसम्पादन गरेको छ।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले जारी गरेको पत्रअनुसार इलाका प्रहरी कार्यालय मालाखेतीले चालु आर्थिक वर्षमा गम्भीर तथा जघन्य प्रकृतिका ८ वटा पेन्डिङ मुद्दासहित जम्मा ११ वटा मुद्दा फछ्र्यौट गरेको छ।

nisarga

प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरले २०८३ साल कात्तिक १९ गते गरेको अनुगमन तथा निरीक्षणका क्रममा मालाखेती प्रहरी कार्यालयको मुद्दा फछ्र्यौटको अवस्था तुलनात्मक रूपमा उत्कृष्ट पाइएको पत्रमा उल्लेख छ।

गम्भीर तथा जघन्य प्रकृतिका मुद्दाहरूको संख्या बढ्दै गएको र मुद्दा फछ्र्यौटको अवस्था कमजोर रहेको भन्दै प्रदेश प्रहरी कार्यालयले विभिन्न प्रहरी कार्यालयलाई पत्राचार तथा अनुगमनमार्फत सुधारका लागि निर्देशन दिँदै आएको थियो।

सोही क्रममा मालाखेतीले ११ वटा मुद्दा फछ्र्यौट गरी उदाहरणीय कार्यसम्पादन गरेको भन्दै अन्य मुद्दा चल्ने प्रहरी कार्यालयहरूलाई समेत गम्भीर तथा जघन्य प्रकृतिका मुद्दा फछ्र्यौटमा आवश्यक पहल गर्न अनुरोध गरिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीको प्रमुखका रूपमा प्रहरी नायब उपरीक्षक (डीएसपी) हिरासिंह महरा कार्यरत छन्। उनको नेतृत्वमा कार्यालयले मुद्दा अनुसन्धान तथा फछ्र्यौटमा उत्कृष्ट कार्यसम्पादन गरेको हो।

प्रदेश प्रहरी कार्यालयले मालाखेतीको कार्यसम्पादनलाई तुलनात्मक रूपमा उत्कृष्ट ठहर गर्दै अन्य प्रहरी कार्यालयहरूलाई पनि यसैअनुसार मुद्दा फछ्र्यौट दरमा वृद्धि गर्न आग्रह गरेको छ।