
धनगढी – बझाङमा प्रहरीले एकनाले भरुवा बन्दुक बरामद गरेको छ । बन्दुकसहित एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्लाको केदारस्युँ गाउँपालिका–७ काँडाचौर निवासी ५८ वर्षीय बहादुर धामीको घरमा भरुवा बन्दुक रहेको गोप्य सूचनाका आधारमा प्रहरीले खानतलासी गरेको थियो।

गएराति २ः३० बजे अस्थायी प्रहरी पोस्ट बिजगडाबाट प्रहरी सहायक निरीक्षक मिनबहादुर चन्दको कमाण्डमा खटिएको टोलीले धामीको घर तथा आसपासको क्षेत्रमा खानतलासी गर्दा घरबाट करिब ५० मिटर टाढा खरको कुन्युमा लुकाएर राखिएको एक थान एकनाले भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीले धामी र बरामद बन्दुकलाई नियन्त्रणमा लिएर सोही दिन दिउँसो ३ः५० बजे जिल्ला प्रहरी कार्यालय बझाङमा पुर्याएको जनाएको छ।


















