दस वर्षसम्म सडक कालोपत्रेको काम शून्य

Image
maya metro

बाजुरा – बाजुराका नौ वटै पालिकाका अधिकांश गाउँबस्तीको जीवन ग्रामीण सडकको भरमा मात्रै चलेको छ ।

स्थानीय सरकार गठन भएको १० वर्षसम्म कुनै पनि पालिकाले ग्रामीण क्षेत्रमा कालोपत्रे सडक निर्माण गर्न सकेका छैनन् । कच्ची रूपमा निर्माण गरेको सडकले यहाँका नागरिकलाई हिउँदका केही महिना यातायातको सुविधा दिने गरेको भए पनि बर्खाका समय भने ती सडकले नै स्थानीयलाई निकै सास्ती दिने गरेको छ । बर्खाका समय थोरै पानी परे पनि ती सडक भत्किने र बिग्रिँदै जाने गरेकाले यहाँका नागरिकलाई आउजाउमा निकै सास्ती हुने गरेको छ ।

nisarga

गाउँमा पुगेका कच्ची सडकलाई पक्की बनाउन अहिले यहाँका स्थानीयले पहल गर्दै आएको भए पनि यता स्थानीय सरकारले भने कालोपत्रेका लागि आफूसँग ठुलो बजेट नभएको बताएका छन् ।

खप्तडछेडेदह गाउँपालिका–१, काँडाका स्थानीय रामबहादुर रोकायाले, ग्रामीण सडक कालोपत्रे नहुँदा बर्खाको समय गाउँदेखि बजार र बजारदेखि गाउँसम्म आउजाउमा निकै समस्या हुने गरेको बताए । उनले भने, “गाउँमा पुगेका सडकमा दुई/तीन महिना गाडी चल्ने र त्यसपछि थोरै पानी पर्नासाथ सडक अवरुद्ध हुने गरेपछि चल्न पनि बन्द हुने गर्छन् । सडक अवरुद्ध भएपछि हामीलाई फेरि उही पुरानो अवस्था आउँछ । पिठिउँमा तरकारी बोकेर बजारमा बिक्री गर्नु परेको छ ।” गाउँमा सडक पुगे पनि कालोपत्रे नहुँदा यहाँका दुर्गम गाउँबस्तीमा समस्या भएको छ ।

जिल्लाको पुर्वीउत्तर क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका र तल्लो क्षेत्रमा रहेको त्रिवेणी नगरपालिकाका एक/दुई वडाका गाउँबस्तीबाहेक अन्य सबै गाउँबस्ती अहिले सडकको पहुँचमा रहँदै आएका छन् । सडक नपुगेका पालिकाका गाउँबस्तीमा अहिले ग्रामीण सडक छिचोल्ने काम धमाधम भइरहेको छ ।