सुदूरको समृद्धि बन्दै महाकाली पुल

Image
maya metro

दार्चुला – दार्चुलास्थित महाकाली नदीमाथि निर्मित नेपाल–भारत जोड्ने पक्की पुल सुदूरपश्चिम प्रदेशको विकास यात्रामा एउटा ऐतिहासिक कोसेढुङ्गा नै साबित भएको छ । कैलाली र कञ्चनपुर जिल्लापछि भारतसँग सडकमार्गले जोडिएको पहाडी जिल्लामा दार्चुला पहिलो जिल्ला बनेको छ ।

मोटरेबल पुल निर्माणपछि सञ्चालनमा आएसँगै सुदूरपश्चिम प्रदेशको सामाजिक, आर्थिक र व्यापारिक इतिहासमा एक युगान्तकारी अध्यायको सुरुवात भएको स्थानीयले महसुस गरेका छन् । दार्चुला जिल्ला त्रिदेशीय सीमानाका जोडिएको जिल्ला भएका कारणले पनि पुल सञ्चालनपछि पर्यटन र व्यापारमा वृद्धि हुने अपेक्षा गरिएको छ । लामो समयसम्म झोलुङ्गे पुलको सहारामा दैनिकी गुजार्न बाध्य सीमावर्ती बासिन्दाका लागि दशकौँदेखिको प्रतीक्षामा अब भने सहजता थपिदिएको छ ।

nisarga

मोटरेबल पुल सञ्चालनलाई सुदुरवासीले आयआर्जन र सहज दैनिकीका लागि आर्थिक अवसरको नयाँ बिहानीका रूपमा हेरेका छन् । त्रिदेशीय सीमामा रहेको पुलले सुदूरपश्चिमका पहाडी जिल्लाको उत्पादन, पर्यटन, वाणिज्य र जनजीवनलाई नयाँ गति दिने सम्भावना बोकेको स्थानीय प्रकाशचन्द्र मिश्रले बताए  । पुललाई अवसरका रूपमा रूपान्तरण गर्ने नीतिगत र व्यावहारिक तयारी आजको आवश्यकता भएको उनले बताए ।

यहाँका पहाडी जिल्ला दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी, अछाम र डडेलधुरा प्राकृतिक सम्पदाले भरिपूर्ण भए पनि भौगोलिक विकटता र बजारको पहुँच अभावमा पछि परेका जिल्ला हुन् । यहाँका उच्च हिमाली तथा पहाडी भेगमा पाइने यार्चागुम्बा, पाँचऔँले, कुट्की, जटामसी, चिराइतो, टिमुर र रिठा जस्ता बहुमूल्य जडीबुटीका साथै सिमी, आलु, स्याउ, ओखर, अदुवा, बेसार, राजमा र महले सहजै सीमापारका ठुला बजार पाउन सक्नेमा उनले आशा व्यक्त गरे । मोटरेबल पुल सञ्चालनमा आएसँगै कृषि उपजको ढुवानी सहज र छिटो हुने अपेक्षा यहाँका स्थानीयले गरेका छन् । यहाँ जडीबुटी प्रशोधन केन्द्र, चिस्यान केन्द्र र सङ्कलन सञ्जालको विकास गर्न सके भविष्यमा निर्यातयोग्य सामग्रीको गुणस्तर कायम सकिने पनि उनले बताए ।

पर्यटनका दृष्टिले सुदूरपश्चिमलाई धार्मिक र साहसिक गन्तव्यको नयाँ कोरिडोरमा पुलले जोड्न सक्ने उहाँको भनाइ छ । कैलास मानसरोवर यात्राको सबै भन्दा छोटो मार्गका रूपमा दार्चुलाको तिङ्कर नाका, अपिहिमाल क्षेत्रको पदयात्रा, अपिनाम्पा संरक्षण क्षेत्र, खप्तड र रामारोशनको प्राकृतिक सौन्दर्य तथा मालिकार्जुन, बडीमालिका, शैलेश्वरी त्रिपुरासुन्दरी र उग्रतारा जस्ता शक्तिपीठ दर्शनका लागि भारतीय पर्यटक भित्र्याउन मोटरेबल पुल सेतु बन्न सक्ने सम्भावना रहेको उनको भनाइ छ । सीमानाकामा चेकजाँचका नाममा भारतीय पक्षबाट नेपाली नागरिक तथा सर्वसाधारणले भोग्दै आएको अनावश्यक झन्झट, सास्ती र असहजता अब कम हुनेमा स्थानीय विश्वस्त छन् ।

यहाँको महाकाली नगरपालिका–८, असीगडा र भारतको उत्तराखण्ड राज्यस्थित धारचुला तहसिलको मल्लो छारछुम जोड्ने ३२ करोड ९८ लाख भारतीय रुपियाँ लागतमा निर्माण गरिएको ११० मिटर लामो पुलको सोमबार नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल माध्यममार्फत संयुक्त रूपमा उद्घाटन गरेका थिए ।