राष्ट्रिय सभा : आज मतदान,१९ पदकालागि ४३ उम्मेदवार मैदानमा

Image
maya metro

काठमाडाैं – राष्ट्रिय सभा सदस्य १९ पदका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बुधबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ । मतदान सकिएलगत्तै मतगणना गर्ने आयोगको तयारी छ ।

नौ दलका ४३ जना उम्मेदवार चुनावी मैदानमा छन्। सत्ता गठबन्धनमा रहेका पाँच दलले संयुक्त रुपमा उम्मेदवारी दिएका छन् भने  एमालेले भने मधेस वाहेकका सबै प्रदेशमा आफ्नो एकल उम्मेदवारी दर्ता गराएको छ। मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी र एमालेको गठबन्धन रहेको छ।

nisarga

राष्ट्रिय सभामा २० सांसदको आगामी फागुन २० गते पदावधि सकिँदैछ। एक जना भने राष्ट्रपतिबाट मनोनित गर्ने व्यवस्था छ।

सुदूरपश्चिम प्रदेशमा तीन जना राष्ट्रियसभा सदस्य चुन्न नेकपा एमाले एक्लै र अन्य तीन दल गठबन्धन बनाएर निर्वाचनमा होमिएका छन्। नेकपा एमालेबाट महिलातर्फ कैलालीकी सन्तोषकुमारी शर्मा थापा, दलिततर्फ बैतडीका नरेश विक र खुलातर्फ डोटीका डिल्लीराज भट्टले मनोनयन दर्ता गरेका छन्।

यस्तै, गठबन्धनबाट नेपाली कांग्रेसको तर्फबाट नारायणदत्त मिश्र, दलितमा माओवादी केन्द्रका जगत पार्की र महिलामा एकीकृत समाजवादीका तर्फबाट गरिमा शाहले मनोनयन दर्ता गरेका छन्।

कोरोना संक्रमणलाई ख्याल गरेर आयोगले स्वास्थ्य सुरक्षाका मापदण्डसहित मतदानको व्यवस्था मिलाएको छ ।