
काठमाडौँ – विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । आगामी चैत/वैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले बताएका छन् ।
विद्यालयहरूले औसतमा ५० देखि ६० प्रतिशतसम्म कोर्स सकेको अवस्था छ । अनलाइनमाध्यमबाट अध्यापन गर्नुपर्ने हुँदा विशेष गरी सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थी पठनपाठनको पहुँचभन्दा टाढा छन् ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष कमला तुलाधरले आगामी चैतको अन्तिम सातासम्ममा बाँकी कोर्स सक्न समस्या नहुने भन्दै वार्षिक परीक्षा आगामी चैतको अन्तिम सातामा लिएर वैशाखको पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न समस्या नहुने बताएकी छन् ।
















