असार ९ गतेबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं – असार ९ गतेबाट ५ देखि ११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजरको (पेडियाट्रिक डोज) खोप खोप लगाइने भएको छ। दुई चरणम गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो समूहका ३९ लाख बालबालिकालाई खोप लगाइने भएको हो।
जसअनुसार पहिलो चरणमा असार ९ गतेदेखि पहिलो चरणको खोप लगाउन शुरु गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए। उनका अनुसार पहिलो चरणमा २७ जिल्लामा असार ९ देखि १५ गतेसम्म खोप लगाइने र यही चरणमा खोप लगाएकालाई दोस्रो डोज खोप साउन २ गतेदेखि ८ लगाउन शुरु गरिने बताए।



यस्तै दोस्रो चरणमा भदौ ५ गतेदेखि ११ गतेसम्म ५० वटा जिल्लाका बालबालिकालाई पहिलो डोज खोप लगाइने र यो चरणमा खोप लगाएकालाई दोस्रो डोज खोप भदौ २७ गतेदेखि असोज १ गतेसम्म खोप लगाइने मन्त्री खतिवडाले बताए। दुबै चरणको खोप अभियानका लागि भने विद्यालयमा खोपकेन्द्र तोकिएको मन्त्री खतिवडाले बताए।
अमेरिकी सरकारले कोभ्याक्स सुविधामार्फत ८४ लाख डोज फाइजरको (पेडियाट्रिक डोज) खोप दिने भएको छ। उक्त खोप जेठ २५ गतेदेखि आउने समेत बताइएको छ।
पहिलो चरणमा खोप झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, पर्सा, सिन्धुली, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौं, चितवन, कास्की, बागलुङ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा जिल्लामा लगाउने तयारी गरिएको छ।
