दार्चुला – व्यास गाउँपालिका –१ तिङ्कर गाउँमा नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको छ । तिङ्करमा पहिलो पटक नेपाल टेलिकमको फोन सेवा सञ्चालनमा आएको व्यास गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिएका छन् ।
नेपाल टेलिकमको एनटी सेट प्रविधिको माध्यमबाट दुईवटा लाईन फोन सेवा जोडिएको छ । ९९४९३००५० र ९९४९३००५१ नम्बरमा फोन गरेर तिङ्करमा सम्पर्क गर्न सकिने गरी सेवा सुचारु गरिएको नेपाल टेलिकम दार्चुलाका प्रमुख कृष्ण गुरुङले जानकारी दिएका छन् । नेपाल टेलिकम दार्चुलाका प्रमुख गुरुङ आफैले तिङ्कर पुगेर चीन नजिकको गाउँमा टेलिकमको एसटी सेवा सुचारु गरेका हुन् ।
चीनसँग जोड्ने सीमाक्षेत्र र भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नजिकको वस्तीमा फोन सेवा नहुँदा स्थानीयबासी सास्ती खेपिरहेका थिए । छाङरु र तिङ्करमा पुग्न जनप्रतिनिधिहरुले समेत भारतीय अनुमति लिएर भारतकै बाटो हुँदै जानुपर्ने बाध्यतामा छ।