विनोद शाही मृत्यु प्रकरण : अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त, १२ प्रहरी र प्रदर्शनकारी घाइते

Image
maya metro

अछाम – पञ्चदेवल विनायक नगरपालिका–४ का विनोद शाहीको मृत्यु बारे छानबिन गर्न माग गर्दै भएको प्रदर्शनमा अछाम सदरमुकाम मंगलसेन तनावग्रस्त बनेको छ । शाहीको न्यायको लागि सदरमुकाम मंगलसेनमा सोमबार बिहानैदेखि प्रदर्शन भएको छ ।

सोमबार शाहीको न्यायको लागि आफन्त तथा स्थानीयहरु सदरमुकाम मंगलसेन पुगेका थिए।

nisarga

उनीहरुले शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै सो कार्यालय र जिल्ला अदालत अछाममा ढुंगामुढा प्रहार गर्दै प्रर्दशन गरेका थिए। त्यसक्रममा ढुंगामुढा प्रहारबाट १२ जनाभन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ।

प्रहरीका अनुसार दुई प्रहरी निरीक्षक, महिला प्रहरीलगायत गरी १२ जना प्रहरीलाई गम्भीर चोट लागेको छ। यस्तै प्रर्दशनकारीहरू पनि घाइते भएको बताइएको छ। विवाद बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ सेल अश्रुग्याससमेत प्रहार गरेको बताएको छ। अहिले स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

गत वैशाख १७ गते बेपत्ता भएका विनोद शाही २० गते मृत अवस्थामा भेटिएका थिए। उनको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवलकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमति बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएको थियो। मेयर चलाउनेसहित ७ जना घटनामा संलग रहेको आरोपमा पक्राउ परेका छन्। किटानी जाहेरी दर्ता भएकामध्ये ६ जना अझै फरार छन्।

उक्त मुद्दामा प्रहरीले मेयर चलाउनेसहित सात जनालाई अदालतबाट २ दिनको म्याद थप गरी हिरासतमा राखेको छ। बाँकीको पनि खोजी कार्य जारी रहेको बताइएको छ।

अछामका पाँच राजनीतिक दलहरूले विज्ञप्ति निकाल्दै विनोदको हत्या घटनाको निष्पक्ष छानबिनको माग गर्दै बन्दको आयोजना गरेका छन् । एमाले अछाम जिल्ला कमिटी सचिव भीम रावल, नेकपा माओवादी केन्द्रका आमन्त्रित प्रदेश कमिटी सचिव शिव बोगटी, एकीकृत समाजवादीका जिल्ला कमिटी सचिवालय सदस्य बमबहादुर रावल, राप्रपाका जिल्ला सदस्य दीपक विष्ट र नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य लोकेन्द्रबहादुर शाहीले हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा दुई दिने यातायात बन्दको आयोजना गरिएको हो।