डडेल्धुरा – डडेल्धुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना जिल्ला घोषणा गरिएको छ। सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्दराज बोहराको प्रमुख आतिथ्यतामा आइतबार जिल्ला सदरमुकाममा आयोजित कार्यक्रममा डडेल्धुरालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो।
मन्त्री बोहराले जिल्लालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा गर्दै जिल्ला खोप समन्वय समितिका संयोजक गगनसिंह भण्डारी र जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख आशुतोष श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका हुन्। मन्त्री बोहराले पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाका लागि योगदान पुगाउने सबैलाई धन्यवाद ज्ञापन गरे।



उनले गेटामा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनको काम अगाडि बढिसकेको बताएका छन् । जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्नका लागि सात वटै पालिकालाई पूर्ण खोप सुनिश्चितता गरिएको थियो।
पालिकाले पूर्णखोप सुनिश्चितता घोषणापश्चात् स्वास्थ्य कार्यालयले प्रमाणीकरणका लागि घरधुरी सर्वेक्षण गर्दै १६ देखि २३ महिनासम्मका बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप पाए/नपाएको अनुगमनसमेत गरिएको थियो। यसअघि सुदूरपश्चिम प्रदेशका दार्चुला र बैतडी जिल्लालाई पूर्ण खोप सुनिश्चित गरिएको छ।
सोमबार डोटी र मंगलबार कञ्चनपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा गर्ने कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय सुदूरपश्चिमले जनाएको छ ।
