कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नम्बर ८ सुन्दरनगरमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले खेत जोत्नमा रोक लगाएको छ । नेपाल–भारत सीमा क्षेत्र नजिक रहेको नेपाली भूमिमा स्थानीय इन्द्र बहादुर रोकाया मगरको नाममा रहेको सेतो पुर्जावाल जग्गा जोत्दै गर्दा भारतीय सीमा सुरक्षा बल एसएसबीले रोक लगाएको बताइएको छ ।

एसएसबीले खेत जोत्न नदिएपछि इन्द्र बहादुरले प्रशासनसँग गुहार मागेपछि नेपाल तर्फका स्थानीय नागरिकहरू र सुरक्षा अधिकारीको टोली विवाद स्थलमा पुगेको थियो । भारतीय पक्षको दादागिरी भन्दै स्थानीयहरूले विरोध समेत जनाएको पत्रकार पप्पु गुरुङले बताएका छन् ।


यसैबिच, उक्त विवादका विषयमा सोमबार अपरान्ह दुवै देशका सुरक्षा अधिकारी सहित जनप्रतिनिधिहरूबिच स्थानीय स्तरमा बैठक बसी छलफल गरिएको कञ्चनपुर स्थित सशस्त्र प्रहरीको शैलेश्वरी गणका गणपति शसस्त्र प्रहरी उपरीक्षक अमर ऐरले जानकारी दिएका छन् । उनका अनुसार, हाललाई सीमा पिलरदेखि दुवैतर्फ दुईदुई मिटरसम्म कुनैपनि गतिविधि नगर्ने सहमति भएको छ ।
