

धनगढी – स्वच्छता कायम नगर्ने कैलालीका २७ ओटा उधोगविरुद्ध मुद्धा दर्ता गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले खाद्य तथा दाना ऐनअनुसार संकलन गरिएका नमूना प्रतिकुल पाइएपछि ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको जनाएको छ।
मःम, चाउमिन, बिस्कुट, विभिन्न ससलगायतका खाद्य पदार्थ उत्पादन गर्ने उद्योगविरुद्ध मुद्दा दायर गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख नवराज दाहालले जानकारी दिए। उनका अनुसार धनगढी उपमहानगरपालिका क्षेत्रका ७, गोदावरी नगरपालिकाका ७, लम्कीचुहा नगरपालिकाका ५, टीकापुर नगरपालिकाका ३, कैलारी गाउँपालिका क्षेत्रका ३, घोडाघोडी र गौरीगंगा नगरपालिकाका १÷१ उद्योगविरुद्ध मुद्दा परेको छ।
ती उद्योगहरुको लेवल तथा प्रशोधन कक्षमा स्वच्छताको अवस्था कमजोर देखिएका कारणले कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मुद्दा दायर गरिएको प्रमुख दाहालले बताए। कार्यालयले गत वर्ष बजार अनुगमनका क्रममा होटल, रेस्टुरेन्ट, खाद्य तथा दाना उद्योग समेत गरेर ४० वटा उद्योगबाट अखाद्य वस्तु बरामद गरेर नष्ट गरेको बताएको छ।

प्रयोगशालामा प्राप्त हुने नमूनाहरु विश्लेषण दस्तुर बापत २७ लाख ९० हजार रुपैयाँ राजश्व समेत संकलन गरिएको छ।
